सिड्नी — नेपाली आदिवासी जनजाति समुदायका मातृभाषालाई अस्ट्रेलियाको सरकारी अभिलेखमा समावेश गर्न माग गर्दै अस्ट्रेलियाका शिक्षामन्त्री जेसन क्लियरसमक्ष ज्ञापनपत्र बुझाइएको छ ।
तामाङ सोसाइटी अफ एनएसडब्ल्यूका अध्यक्ष अविरल तामाङ, नेसनल इन्डिजिनस नेसनालिटिज फेडरेसन अस्ट्रेलिया (NINFA) तथा तामाङ सोसाइटी अफ एनएसडब्ल्यूका संस्थापक गणेश तामाङ र NINFA का सल्लाहकार चित्र तुम्बाहाङ्फेको उपस्थितिमा बैंकस्टाउनस्थित मन्त्री क्लियरको कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली आदिवासी जनजाति समुदायका मातृभाषालाई सरकारी अभिलेखमा उचित रूपमा समावेश गर्न माग गरिएको छ । भाषा समुदायको पहिचान, संस्कृति र मौलिकताको महत्वपूर्ण आधार भएकाले सरकारी अभिलेखमा मातृभाषाको पहिचान स्थापित गर्नुपर्ने माग प्रतिनिधिमण्डलले राखेको थियो ।
ज्ञापनपत्र बुझ्दै शिक्षामन्त्री क्लियरले नेपाली आदिवासी जनजाति समुदायका मागप्रति आफू सकारात्मक रहेको बताएका थिए । समुदायका लागि महत्वपूर्ण विषयलाई आफ्नो ध्यानाकर्षण गराएकोमा उनले प्रतिनिधिमण्डललाई धन्यवादसमेत दिएका थिए ।
प्रतिनिधिमण्डलले अस्ट्रेलियामा नेपाली आदिवासी जनजाति समुदायको उपस्थिति र उनीहरूको भाषिक तथा सांस्कृतिक पहिचानलाई राज्यका आधिकारिक अभिलेखमा उचित स्थान दिनुपर्ने आवश्यकताबारे मन्त्री क्लियरको ध्यानाकर्षण गराएको थियो ।
ज्ञापनपत्र बुझाउने क्रममा नेपाली आदिवासी जनजाति समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनका लागि आगामी दिनमा समेत सम्बन्धित निकायसँग सहकार्य गर्दै अघि बढ्ने विषयमा छलफल भएको जनाइएको छ ।



