कपिलवस्तु—शुक्रबारदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको खोजीमा प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोन परिचालन गरेको छ।
प्रहरीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर झिकाएर खोजीमा परिचालन गरेको हो। साथै सम्भावित क्षेत्रमा ड्रोनबाट समेत निगरानी भइरहेको प्रहरीले जनाएको छ।
पूर्वमेयर सिंहको खोजीका लागि प्रहरी टोलीले गोरुसिंगे क्षेत्रको जंगलमा सक्रियतापूर्वक खोजी गरिरहेको छ। खोजी अभियानमा कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्ट स्वयं समेत खटिएका छन्।
एसपी भट्टले खोजी अभियान जारी रहेको जानकारी दिँदै तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरिएको बताएका छन्। प्रहरीले सिंहको अवस्थाबारे थप विवरण खोजीपछि मात्र स्पष्ट हुने जनाएको छ।



