काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम हुने भए आफू महामन्त्री पद छाड्न तयार रहेको बताएका छन् ।
शनिबार काठमाडौं कांग्रेसको महानगरपालिका वडा नम्बर २६ कार्यसमिति सम्मान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पार्टीको सभापति संस्था भएकाले सभापतिभन्दा माथि कोही हुन नसक्ने बताए।
उनले पार्टीका वरिष्ठ नेताहरूको योगदान आफूभन्दा धेरै रहेको भन्दै उनीहरूलाई सम्मान गर्नुपर्ने धारणा राखे ।
‘सभापति भनेको संस्था हो, त्यसैले संस्थाभन्दा माथि कोही हुँदैन । केही नेताहरू स्वयं वरिष्ठ नेता हुनुहुन्छ, त्यसैले वरिष्ठ मान्न नपर्ने केही कारण छैन। उहाँहरूको योगदान मेरोभन्दा धेरै छ । सभापतिभन्दा तल हामी सबैभन्दा माथि उहाँहरूलाई राख्न हामी तयार छौं। यो पार्टी मिल्छ भने म महामन्त्री अहिले छाड्न तयार छु,’ पौडेलले भने ।
उनले पछिल्लो राजनीतिक परिस्थितिप्रति टिप्पणी गर्दै सिंहदरबार जलाउनेहरूकै हातमा अहिले सत्ता पुगेको बताए। आन्दोलन र हिंसाको माध्यमबाट सत्तामा पुग्ने प्रवृत्तिले मुलुकलाई थप संकटतर्फ लैजाने उनको भनाइ थियो।
‘आज त सिंहदरबार जलाउनेहरूको हातमा सत्ता छ । अब जलाउँदै हिँड्ने? अस्ति झन्डै तराईबाट नै त्यस्तै अवस्था आइसकेको थियो । आगो लगाएपछि त कसैले निभाउन नपर्ने रहेछ । देशमा आगो लगाउन त सिकाइएको छ नि,’ उनले भने।
पौडेलले विगतमा कसले आगो लगायो भन्ने प्रश्न गर्दै आगजनी र हिंसाबाट सत्तामा पुगेकाहरूले अहिले त्यसलाई नियन्त्रण गर्न सक्ने अवस्था छ कि छैन भन्ने प्रश्न गरे।
‘हिजो को–कसले आगो लगाउनुभयो, आगो लगाएर सत्तामा पुग्नुभयो । अब निभाउन सक्नुहुन्छ, कसैलाई केही भन्न सक्नुहुन्छ?’ उनले प्रश्न गरे।
उनले अतिवादलाई परास्त गर्ने बाटो निर्वाचन नै भएको उल्लेख गर्दै सिंहदरबारमा आगजनी नभएको भए पनि निर्वाचन हुने र निर्वाचनमार्फत जनताले पुराना दललाई दण्ड दिने सम्भावना रहेको बताए।
उनले देशको अवस्था झनै बिग्रिँदै गएको भन्दै परिवर्तनको नाममा पुरानै गल्ती दोहोर्याउन नहुने बताए।
महामन्त्री पौडेलले नेपाली कांग्रेस देशमा सबैभन्दा धेरै सदस्य भएको र ती सदस्यलाई डिजिटल माध्यमबाट जोड्ने पार्टीका रूपमा विकास भइरहेको बताए ।
उनका अनुसार कांग्रेसले अब पार्टीभित्र प्राथमिक निर्वाचन (प्राइमरी) को अभ्यास अघि बढाउने तयारी गरेको छ । वडा अध्यक्षको उम्मेदवार चयनमा सम्बन्धित वडाका क्रियाशील सदस्यले मतदान गर्न पाउने र डिजिटल माध्यमबाट समेत मतदान गर्न सकिने उनले बताए।



