Thursday, August 6, 2026
Zenith Migration Education
Thursday, August 6, 2026

जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

Zenith Migration Education

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सूचना तथा सञ्चारमाध्यमसँग पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको दाबी गरेका छन् ।

उनले विद्रोहपछि जनादेश प्राप्त सरकारले जनताको भावना, आकांक्षा र विशेषगरी नयाँ पुस्ता (जेनजी) का अपेक्षाअनुसार काम गर्नुपर्ने भए पनि पाँच महिनाको अभ्यासले त्यसको विपरीत अवस्था देखिएको बताए ।

विप्लवले भने, ‘सबै जनताको आशा र हाम्रो पनि सामान्य अपेक्षा थियो कि यत्रो विद्रोहको जनादेशपछि आएको सरकारले केही न केही जेनजीका भावना र जनताका आकांक्षा तथा अपेक्षाअनुरूप काम गर्छ । तर पाँच महिनाको अभ्यासमा सरकारको चालढाल हेर्दा जनतामा पश्चाताप सुरु हुन थालेको छ । बेचैनी बढेको छ । असन्तुष्टि, आक्रोश र एक प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बनेकोप्रति गम्भीर प्रश्न उठ्न थालेका छन् । बालेन सरकारप्रति मानिसका धारणाहरू पनि उल्टिन थालेका छन् ।’

उनले विद्रोहको भावनाबाट सम्पन्न निर्वाचनपछि बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । उनका अनुसार जनताका अपेक्षाहरू फेरि पनि टुक्रिन र चकनाचुर हुन थालेका छन् ।

विप्लवले नयाँ पुस्तामा असन्तुष्टि बढ्दै गएको दाबी गर्दै जेनजी विद्रोहीहरूले पुनः सडकबाट आफ्ना आवाज उठाउन थालेको बताए । उनले देशमा फेरि आन्दोलन, संघर्ष र विद्रोहको वातावरण बन्दै गएको दाबी गरे ।

उनका अनुसार जेनजीको मुख्य माग भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्नु थियो । सुरुमा सरकारले त्यसतर्फ केही संकेत देखाए पनि एक साताभित्रै आफ्नो दिशा परिवर्तन गरेको उनको आरोप छ ।

‘विद्रोहको भावबाट भएको चुनावबाट आएको सरकार जसरी चल्नुपथ्र्यो, त्यो दिशामा गएन । जनताका अपेक्षाहरू फेरि पनि टुक्रिन, चकनाचुर हुन थालेको हामी देख्छौं । जेनजी विद्रोहीहरूले पनि फेरि सडकबाट आफ्ना आवाजहरू उठाउन थालेका छन् । मुख्यतः नयाँ पुस्ता असन्तुष्ट बन्दै गइरहेको चित्र हाम्रो अगाडि छ । एक प्रकारले अकल्पनीय ढंगले जनतामा फेरि आन्दोलनको स्थिति, संघर्षको स्थिति र विद्रोहको वातावरण बन्न थालेको हामी देख्छौं । सुरुमा सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने छनक दिएको थियो । तर एक सातामै राज्य भ्रष्टाचारीविरुद्ध होइन, जनताविरुद्ध दमनमा उत्रियो,’ उनले भने ।

विप्लवले सरकारले भ्रष्टाचारीहरूको संरक्षण गर्न थालेको आरोप लगाउँदै भ्रष्टाचारमा आरोपित व्यक्तिहरूको प्रभाव बढ्दै गएको दाबी गरे । ‘अहिले भ्रष्टाचारीहरूको स्वर झन् ठूलो भएको छ । उनीहरू सडक हुँदै सत्तामा आउन थालेका छन् । जेल परेका भ्रष्टाचारीहरू पनि धरौटीमा वा विनाधितो धमाधम रिहा भइरहेका छन् । यसले जनता आश्चर्यचकित भएका छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु