सिड्नी — अष्ट्रेलियाको सिड्नीमा कला क्षेत्रमा सक्रिय गायिका तथा कलाकार जेनिशा गौतमको नयाँ गीत ‘फूल फुल्यो केशरी’ को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ।
सिड्नीस्थित ग्रान्ड प्यालेस, अबर्नमा आयोजित कार्यक्रममा चलचित्र निर्देशक शोभित बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा एनएसडब्ल्यू नारी निकुञ्जकी संयोजक आशा श्रेष्ठ, समाजसेवी मीना गुप्ता लगायत सामाजिक, सांस्कृतिक र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले प्रवासमा रहेर नेपाली कला, संगीत र संस्कृतिको प्रवर्द्धनमा कलाकारहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै जेनिशा गौतमको सिर्जनात्मक यात्राको प्रशंसा गरे।
जेनिशा गौतमले भिडियो निर्माण तथा सार्वजनिक कार्यक्रममा सहयोग पुर्याउने अतिथि, शुभेच्छुक, प्रायोजक, सञ्चारकर्मी, कलाकार र नेपाली समुदायप्रति आभार व्यक्त गरिन्।
गीतमा जेनिशा गौतमसँगै प्रताप दास को स्वर रहेको छ। गीतको संगीत संयोजन उदयराजले गरेका छन्। गौतमले यस परियोजनामा गायिका, गीतकार, संगीतकार, अभिनेत्री तथा निर्देशकको भूमिका निर्वाह गरेकी छन्।

म्युजिक भिडियोमा दीपेन भण्डारी मुख्य भूमिकामा छन्। भिडियोको छायांकन ओम गोर्खालीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन्।
कार्यक्रममा केही नेपाली सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रमको सञ्चालन कलाकार मुकुन्द तिमिल्सिना ले गरेका थिए।
वक्ताहरूले ‘फूल फुल्यो केशरी’लाई केवल सांगीतिक प्रस्तुति मात्र नभई प्रवासमा नेपाली भाषा, कला र संस्कृतिलाई जीवन्त राख्ने प्रयासको सशक्त अभिव्यक्तिका रूपमा व्याख्या गर्दै जेनिशा गौतमको आगामी सिर्जनात्मक यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए।




