Tuesday, April 14, 2026
Zenith Migration Education
Tuesday, April 14, 2026

सिड्नीमा अर्बन नेप्लिज कम्युनिटीद्वारा ‘नयाँ वर्ष २०८३’ सांगीतिक कार्यक्रमसहित मनाइँदै

Zenith Migration Education

सिड्नी — प्रवासी नेपाली समुदायबीच सांस्कृतिक एकता र पहिचान सुदृढ गर्ने उद्देश्यसहित अर्बन नेप्लिज कम्युनिटीले ‘नेपाली नयाँ वर्ष २०८३’ का अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

मंगलबार (अप्रिल १४) दिउँसो १ बजेदेखि साँझ ९ बजेसम्म ग्रानभिल पार्कमा हुने कार्यक्रममा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी रेमिट्ली मुख्य साझेदारका रूपमा रहनेछ भने कम्बरल्याण्ड सिटी काउन्सिलसहित विभिन्न संघसंस्था र व्यवसायिक प्रतिष्ठानहरूको सहयोग रहने बताइएको छ।

कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। गायक रमेशराज भट्टराई, अञ्जु पन्त र सिर्जना खत्रीका साथै जिनिशा गौतम, श्रेस्या ज्ञवाली र सरिना सैंजु लगायतले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्। विभिन्न नृत्य समूहको प्रस्तुति, ‘अर्बन फोक’को लाइभ संगीत तथा स्थानीय कलाकारहरूको सहभागिताले कार्यक्रमलाई विविधतापूर्ण बनाउने आयोजकको भनाइ छ।

कार्यक्रमको सञ्चालन डोमा तामाङ, अजिना कार्की र सबला बस्नेतले गर्नेछन्। कार्यक्रममा खानाका स्टल, व्यवसायिक प्रदर्शनी, बालबालिकामुखी गतिविधि तथा सामुदायिक भेटघाटका कार्यक्रमसमेत रहनेछन्।

अर्बन नेप्लिज कम्युनिटीका अध्यक्ष अरुण श्रेष्ठले नयाँ वर्षलाई प्रवासी नेपालीहरूको साझा पर्वका रूपमा मनाउन सबैलाई आग्रह गरेका छन्। उनका अनुसार विदेशमा बसोबास गर्ने नेपालीबीच भाषा, संस्कृति र परम्पराको संरक्षणका लागि यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्नेछन्।

आयोजकका अनुसार अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई एकै स्थानमा भेला गराउँदै नेपालीपनको अनुभूति दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यसले विशेषतः नयाँ पुस्तालाई आफ्ना सांस्कृतिक जरोसँग जोड्ने विश्वास लिइएको छ।

सिड्नी तथा आसपासका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नयाँ वर्ष उत्सवलाई भव्य बनाउन आयोजकले आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु