सिड्नी — अष्ट्रेलियाको New South Wales Police Force ले ‘Be a Cop in Your Community’ नामक नयाँ भर्ती अभियान सुरु गरेको छ। सांस्कृतिक तथा भाषिक विविधताबाट आएका व्यक्तिहरूलाई प्रहरी सेवामा आकर्षित गर्ने उद्देश्यले यो पहल अघि बढाइएको हो।

बुधबार बिहान Parliament House मा आयोजित कार्यक्रममा NSW का प्रिमियर Chris Minns, प्रहरी तथा आतंकवादविरुद्धका मन्त्री Yasmin Catley तथा Deputy Commissioner Dean Smith सहभागी थिए। कार्यक्रममा बोल्दै उनीहरूले समुदायको विविधता झल्किने प्रहरी संरचना आजको आवश्यकताका रूपमा रहेको उल्लेख गरे।

यो अभियानमार्फत विभिन्न भाषा, संस्कृति र समुदायका व्यक्तिहरूलाई प्रहरी सेवामा समेट्दै समुदायसँगको सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य राखिएको छ। विशेषगरी बहुसांस्कृतिक समाज भएका क्षेत्रमा प्रहरीको उपस्थितिलाई अझ प्रभावकारी बनाउने उद्देश्य रहेको जनाइएको छ।

यसै क्रममा अभियानलाई समुदायस्तरमै प्रवर्द्धन गर्न ओबर्नस्थित Auburn Central Forecourt मा विशेष कार्यक्रम आयोजना गरिएको थियो। बिहान ९ बजेदेखि १२ बजेसम्म सञ्चालन भएको कार्यक्रममा Auburn Police Area Command को सहभागितामा स्थानीय युवाहरू तथा हाई स्कूलका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले NSW Police Force मा करियर बनाउने अवसरबारे जानकारी लिनुका साथै प्रहरी अधिकारीहरूसँग आफ्ना जिज्ञासा राखेका थिए।

ओबर्न प्रहरी एरिया कमाण्डर Superintendent Robert Toynton ले यस्ता कार्यक्रमले समुदाय र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गरे।
ओबर्नमा आयोजित उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रहरीले जनाएको छ। कार्यक्रममा समय निकालेर सहभागी हुने समुदायप्रति आभार व्यक्त गर्दै आयोजकले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने Auburn Central Shopping Centre तथा स्थानीय विद्यालयहरूलाई विशेष धन्यवाद दिइएको छ।
यस अभियानलाई प्रहरीले समुदाय र सुरक्षाबीचको दूरी घटाउने महत्वपूर्ण कदमका रूपमा लिएको छ।









तस्बिर: ओबर्न प्रहरी क्षेत्र कमाण्ड (फेसबुक)



