Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

पास्टर लाजरस थुलुङलाई ५० लाखको किया मोटर उपहार

Zenith Migration Education

ललितपुर — ज्योति ग्रेट कमिसन फेलोसिपका पास्टर लाजरस थुलुङले आफ्नो ५२औँ जन्मदिनका अवसरमा करिब ५० लाख रुपैयाँ मूल्य बराबरको किया मोटर उपहारस्वरूप प्राप्त गरेका छन्।

सोमबार ललितपुरको कार्यविनायकस्थित चर्च परिसरमा आयोजित विशेष कार्यक्रममा अमेरिकास्थित भुटानिज नेप्लिज चर्चेज अफ अमेरिका (बीएनसीए)का अध्यक्ष पास्टर सान राईले मोटरको साँचो हस्तान्तरण गर्दै उक्त उपहार प्रदान गरेका हुन्।

अध्यक्ष राईका अनुसार पास्टर थुलुङले विगत ३५ वर्षदेखि निस्वार्थ रूपमा परमेश्वरको सेवामा समर्पित रहेकाले सम्मानस्वरूप मोटर उपहार प्रदान गरिएको हो। कार खरिदका लागि अमेरिकामा रहेका नेपालीभाषी चर्चका पास्टर तथा अगुवाहरू, इस्राएल र भारतमा रहेका नेपालीभाषी चर्चका सदस्यहरूले आर्थिक सहयोग जुटाएका थिए।

कार्यक्रममा इसाई चलचित्र निर्देशक तथा पास्टर सन्तोष रामदामले मोटरभन्दा पनि सहयोगीहरूको उदार हृदय ठूलो भएको टिप्पणी गरे। उनले यस्ता सहयोगीहरू निरन्तर साथमा रहिरहे भविष्यमा पनि थुलुङजस्ता हजारौँ पास्टरहरूलाई सम्मानस्वरूप यस्ता उपहार प्रदान गर्न सकिने विश्वास व्यक्त गरे।

बीएनसीएका महासचिव पास्टर राजु रामदामले अभियानमा सानो अंश बन्न पाउनु अमेरिकास्थित नेपालीभाषी चर्च समुदायका लागि गौरवको विषय भएको बताए।

पास्टर थुलुङ तीन पुस्तादेखि पास्टर सेवामा संलग्न परिवारका सदस्य हुन्। उनका बुवा पास्टर एनडी थुलुङ र हजुरबुवा डिआर थुलुङ पूर्वाञ्चलको ख्रीष्टियन इतिहासका महत्वपूर्ण व्यक्तित्वमध्ये एक मानिन्छन्।

उपहार ग्रहण गर्दै पास्टर थुलुङले सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गरे। उक्त उपहारले प्रभुको सेवामा थप उत्साह र प्रेरणा मिलेको उनले बताए।

मोटर हस्तान्तरण कार्यक्रममा बीएनसीएका महासचिव पास्टर राजु रामदाम, इसाई चलचित्र निर्देशक तथा पास्टर सन्तोष रामदाम, पास्टर उमेश, पास्टर शमूएल, पास्टर सन्तोष क्षेत्री, पास्टर प्रमोद, पास्टर विजय सुब्बालगायत अन्य पास्टरहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पास्टर सन्तोष क्षेत्रीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु