Monday, September 7, 2026
Zenith Migration Education
Monday, September 7, 2026

राष्ट्रिय शोककै दिन झापाली समाज अस्ट्रेलियाद्वारा प्रधानमन्त्री कोषमा १२ लाख २० हजारभन्दा बढी सहयोग

Zenith Migration Education

काठमाडौं, भदौ २२ — भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकको सम्मानमा नेपालमा राष्ट्रिय शोक दिवस मनाइरहेका बेला झापाली समाज अस्ट्रेलियाले विपद्पीडितका लागि संकलित १२ लाख २० हजार ५६९ रुपैयाँ ४१ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।

झापाली समाज अस्ट्रेलियाले संकलन गरेको ११ हजार ४६१ अस्ट्रेलियन डलर ७३ सेन्ट बैंकिङ माध्यमबाट नेपाल पठाएको थियो। उक्त रकम ८ हजार ८९ अमेरिकी डलर ६७ सेन्ट बराबर भएको र नेपाल राष्ट्र बैंकको सो दिनको विनिमय दरअनुसार नेपाली रुपैयाँमा रूपान्तरण गरिएको संस्थाले जनाएको छ।

सिंहदरबारमा आयोजित कार्यक्रममा झापाली समाज अस्ट्रेलियाका संरक्षक दिनेश पोखरेल र उपाध्यक्ष मदन धौरालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरण गर्दै संस्थाले विपद्मा परेका परिवारको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आफ्नो सहयोग समर्पित गरिएको जनाएको छ।

व्यवसायीबाट १४ हजार अस्ट्रेलियन डलर

राहत अभियानमा अस्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरूले पनि उल्लेखनीय सहयोग गरेका छन्। वाईडीआर हस्पिटालिटी ग्रुप (खुकुरी रेस्टुरेन्ट्स), लेनवे डम्प्लिङ्स, निलगिरिस सुपरमार्केट, क्रिस्टल सर्भिसेस सिड्नी, स्पेसलाइज्ड स्टाफिङ सोलुसन र किओस फाइन फुडले संयुक्त रूपमा १४ हजार अस्ट्रेलियन डलर सहयोग गरेका थिए।

विभिन्न दाता, व्यवसायी तथा समुदायका सदस्यको सहयोगबाट अभियानमा कुल १७ हजार १८४ अस्ट्रेलियन डलर संकलन भएको समाजले जनाएको छ।

यसअघि संस्थाले अन्तर्राष्ट्रिय झापाली समाजमार्फत विपद्पीडितका लागि ५ लाख रुपैयाँ सहयोग गरिसकेको छ। त्यसका लागि ४ हजार ६११ अस्ट्रेलियन डलर ७३ सेन्ट पठाइएको थियो। त्यस्तै, एनआरएनए अस्ट्रेलियाको राहत अभियानमा १ हजार १११ अस्ट्रेलियन डलर सहयोग गरिएको संस्थाले जनाएको छ।

‘नेपालसँग उभिन पाउनु सम्मान हो’

झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले राष्ट्रिय शोक दिवसकै दिन सहयोग रकम हस्तान्तरण हुनुलाई अर्थपूर्ण संयोगका रूपमा लिएका छन्।

‘आज नेपाल राष्ट्रिय शोकमा छ। यस्तो संवेदनशील समयमा प्रवासमा रहेका हामी पनि नेपालसँगै दुःखमा छौं,’ राजवंशीले भने, ‘विपद्मा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछौं। समुदायले संकलन गरेको सहयोग सरकारको राहत कोषमा हस्तान्तरण गर्न पाउनु हाम्रा लागि सम्मानको विषय हो।’

उनका अनुसार अभियान कुनै एक व्यक्ति वा संस्थाको मात्र प्रयास नभई अस्ट्रेलियामा रहेका झापाली तथा व्यापक नेपाली समुदायको सामूहिक प्रयास हो। संस्थाले संकलित रकमबाट संस्थागत खर्च कटौती नगरी पीडितका लागि समर्पित गर्ने नीति लिएको पनि उनले बताए।

झापाली समाजले अभियानमा सहयोग गर्ने दाता, व्यवसायी, समुदायका सदस्य तथा विभिन्न साझेदार संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र नेपाली समुदायको हितमा सामाजिक तथा मानवीय सहयोग जारी राख्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु