Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

नतिजामा एकरूपता र भावनात्मक स्थिरता आवश्यक : पारस खड्का

Zenith Migration Education

काठमाडौँ । मुम्बईमा मुलपानी र कीर्तिपुरको झल्को दिने गरी उर्लिएका हजारौँ नेपाली समर्थकबीच नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली टोलीको प्रदर्शन र भावी दिशाबारे विश्लेषण गरेका छन्।

क्रिकेट संघका सचिव तथा पूर्वकप्तान खड्काले इङ्ल्यान्डविरुद्धको उत्कृष्ट प्रदर्शन र इटालीसँगको अप्रत्याशित हारपछि नेपाली क्रिकेटमा देखिएको भावनात्मक उतारचढाव र नतिजामा एकरूपताको आवश्यकतामा विशेष जोड दिए। विश्वकपको मञ्चमा इङ्ल्यान्डजस्तो दाबेदार टोलीसँग चार रनको झिनो अन्तरले पराजित हुँदा प्राप्त प्रशंसा र त्यसको केही दिनमै इटालीसँगको हारले नेपाली क्रिकेटमा ठूलो उतारचढाव देखिएको उनले बताए।

“नेपाल क्रिकेटको समर्थक हुन सजिलो छैन। म आफैँ पनि पूर्वकप्तान हुँ। अहिले समर्थकका रूपमा हेर्दा खेल्नु भन्दा खेल हेर्नु धेरै गाह्रो हुँदो रहेछ। हामी भावनात्मक रूपमा धेरै ‘ड्रिभन’ छौँ,” उनले भने।

कन्सिस्टेन्सी मुख्य चुनौती
खड्काले सन् १९९६ देखि २०२४ सम्मको करिब ३० वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्राको स्मरण गर्दै नेपालमा अझै बलियो क्रिकेट संरचना नबनेको स्वीकार गरे।

“हाम्रो स्पष्ट संरचना छैन, जहाँबाट नियमित रूपमा खेलाडी उत्पादन होस्। पुस्तौँदेखि खेलाडी र प्रशिक्षकहरूको मेहनतले हामी यहाँसम्म आइपुगेका हौँ,” उनले भने।

उनले नेपालीहरूको राष्ट्रिय स्वभाव नै भावनात्मक रहेको र त्यसको प्रभाव क्रिकेट टोलीमा पनि देखिने टिप्पणी गरे।

इटालीसँगको हार ः एक विश्लेषण
इटालीसँगको हारबारे खड्काले इटाली युरोपबाट छनोट भएर आएको टोली भएको उल्लेख गरे। “इटाली युरोपबाट क्वालिफाइड भएर आएको टिम हो। उनीहरूसँग डगी ब्राउन र केभिन ओ’ब्रायनजस्ता अनुभवी प्रशिक्षक छन्। हामीले पहिलो खेलको ‘पोजिटिभ ब्यागेज’ धेरै बोकेर मैदानमा गयौँ जस्तो लाग्छ। २० ओभरको ब्याटिङ र साढे १२ ओभरको बलिङ हाम्रो टोलीले खेलेको अहिलेसम्मकै कमजोर क्रिकेटमध्ये एक थियो,” उनले भने।

आगामी लक्ष्य ः वेस्ट इन्डिज र स्कटल्यान्ड
गणितीय रूपमा अझै पनि अर्को चरणमा पुग्ने सम्भावना जीवित रहेको उल्लेख गर्दै खड्काले आगामी दुई खेलमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। वेस्ट इन्डिजविरुद्धको खेल नेपालका लागि पहिलो पटक टेस्ट राष्ट्रलाई हराउने ऐतिहासिक अवसर भएको उनले उल्लेख गरे।

“वेस्ट इन्डिज र स्कटल्यान्डसँगको खेल सजिलो छैन, तर हाम्रा खेलाडीहरूले ‘फाइट ब्याक’ गर्नेछन् भन्नेमा हामीलाई विश्वास छ,” उनले भने।

खड्काले समर्थकहरूलाई धैर्य राख्न र टोलीको मनोबल बढाइराख्न आग्रह गर्नुभयो। गाली पनि मायाकै रूपमा आउने उल्लेख गर्दै उहाँले खेलाडीहरूलाई मानसिक रूपमा अझ बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए।

ओडीआई स्टाटस जोगाउन र नेपाली क्रिकेटलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन संघले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु