काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकपको दशौं संस्करण आज (शनिबार)देखि सुरु हुँदै छ। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ। छोटो फर्म्याटको यस विश्वकपमा कुल २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको उद्घाटन दिन तीन खेल आयोजना हुनेछन्। श्रीलंकाको कोलम्बोस्थित आर। प्रेमदासा स्टेडियम (वा सिन्हलीज स्पोर्ट्स क्लब मैदान) मा पाकिस्तान र नेदरल्यान्ड्सबीचको खेलसँगै विश्वकपको औपचारिक सुरुआत हुनेछ। अन्य खेलहरूमा वेस्ट इन्डिज र स्कटल्यान्ड कोलकाताको इडेन गार्डेन्समा तथा आयोजक भारत र अमेरिकाबीच मुम्बईको वानखेडे स्टेडियममा प्रतिस्पर्धा हुनेछ। भारतले यही खेलबाट आफ्नो उपाधि रक्षा अभियान सुरु गर्नेछ।
प्रतियोगितामा कुल ५५ खेल हुनेछन्। २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ, प्रत्येक समूहमा पाँच टोली रहनेछन्। समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–८ मा प्रवेश गर्नेछन्। सुपर–८ मा दुई समूह रहनेछन् र त्यहाँबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलका विजेता टोलीबीच फाइनल खेल हुनेछ।
खेलहरू भारतका मुम्बई, कोलकाता, चेन्नई, दिल्ली र अहमदाबादसहित विभिन्न शहरका मैदान तथा श्रीलंकाका कोलम्बो (आर. प्रेमदासा र एसएससी) र पल्लेकेले मैदानमा सञ्चालन हुनेछन्। फाइनल खेल मार्च ८ मा हुनेछ।
डिफेन्डिङ च्याम्पियन भारत घरेलु मैदानमा उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छ। दुई वर्षअघिको संस्करणझैँ २० टोली सहभागी भएको यस प्रतियोगिताले क्रिकेट प्रेमीहरूमा ठूलो उत्साह थपेको छ।



