सिड्नी । अस्ट्रेलियाको बेरोजगारी दर घटेर ४.१ प्रतिशत कायम भएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार डिसेम्बर महिनामा अस्ट्रेलियाको बेरोजगारी दर घटेर ४.१ प्रतिशत कायम भएको हो ।
यसै अवधिमा अस्ट्रेलियालीहरूले काम गरेको कुल समय पहिलो पटक दुई अर्ब घण्टा पुगेर नयाँ कीर्तिमान कायम गरेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सकाअनुसार नोभेम्बरमा ४.३ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरमा ४.१ प्रतिशतमा झरेको हो ।
यो सन् २०२५ मा रेकर्ड गरिएको सबैभन्दा न्युन स्तर हो । तथ्याङ्कअनुसार नोभेम्बर र डिसेम्बरको बीचमा रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको कुल सङ्ख्या ६५ हजार दुई सयले बढेको छ ।
सोही अवधिमा आधिकारिक रूपमा बेरोजगारको सूचीमा रहेका व्यक्तिहरूको सङ्ख्या भने २९ हजार आठ सयले घटेको छ । नोभेम्बर र डिसेम्बरको बीचमा अस्ट्रेलियालीहरूले काम गरेको कुल घण्टामा ०.४ प्रतिशतले वृद्धि भई दुई अर्ब पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो ।



