Sunday, April 19, 2026
Zenith Migration Education
Sunday, April 19, 2026

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

Zenith Migration Education

काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले औपचारिक रूपमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको पार्टीले जनाएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्रीको उम्मेदवार तोक्ने निर्णय आउनेछ । ‘‘हामी देशभर नयाँ र नविन कांग्रेसको सन्देशसहित सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दैछौं,’’ प्रवक्ता चालिसेले भने ।

उनका अनुसार विशेष महाधिवेशनको म्यान्डेट तथा सुशासन र विकासको मागसहित उठेको जेन–जी आन्दोलनको सन्देशलाई समेत सम्बोधन गर्ने गरी कांग्रेस स्पष्ट नेतृत्वसहित निर्वाचनमा जाने तयारीमा छ । ‘‘भोट हालिसकेपछि प्रधानमन्त्री को हुन्छ भन्ने विषयमा मतदातालाई पहिल्यै स्पष्ट जानकारी दिने हाम्रो रणनीति हो,’’ उनले भने ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेस विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो। सोही महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरू आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्ने कार्यक्रम रहेको प्रवक्ता चालिसेले जानकारी दिए ।

यद्यपि सभापति निर्वाचित भएपछिका पहिलो र दोस्रो केन्द्रीय कार्यसमिति बैठक तथा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटका लागि गठित संसदीय बोर्डको बैठक पार्टी केन्द्रीय कार्यालयमा नबसी बाहिर नै बसेका थिए । थापा नेतृत्वको कार्यसमिति आज पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गरी पदबहाली गर्ने कार्यक्रम समेत रहेको छ । ‘‘आजदेखि केन्द्रीय कार्यालयमै केन्द्रीय कार्यसमिति बैठक बस्छ,’’ प्रवक्ता चालिसेले भने ।

उनका अनुसार केन्द्रीय कार्यसमितिलाई आज निर्वाचन समितिले औपचारिक रुपमा प्रमाणपत्र समेत प्रदान गर्नेछ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै अन्य राजनीतिक दलहरूले पनि प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेका छन् । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।

कांग्रेसभित्र भने विशेष महाधिवेशन आह्वानका क्रममा गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूको पहलप्रति तत्कालीन सभापति शेरबहादुर देउवा समूहले असहमति जनाएको थियो ।

उहाँहरूको असहमतिका बीच सम्पन्न भएको विशेष महाधिवेशनबाट गठित नयाँ समितिले पार्टीलाई नयाँ तरिकाले सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु