काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै खरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेको जानकारी दिँदै सो घोषणा गरेका हुन् ।
उनले आफूले सरकारमा रहँदा मुलुकको विकास र सुशासनको आधारशिला तयार पारेको दाबी पनि गरे । आफूहरुले तयार पारेको आधारशीलामा रहेर निर्वाचित सरकार अघि बढ्न सकेमात्र मुलुकमा विकास र सुशासन कायम गर्न सकिने उनको जिकिर छ ।
उहाँले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको औंल्याउँदै यसको अन्त्य अपरिहार्य रहेको पनि बताए । उनले सरकारले नागरिक हितलाई केन्द्रमा राखेर काम गर्नसके मात्र मुलुक नागरिकको हित हुने बताए । खरेल गत असोज ५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदभार ग्रहण गरेका थिए ।



