Wednesday, February 11, 2026
Zenith Migration Education
Wednesday, February 11, 2026

इरानमा नयाँ नेतृत्व खोज्ने समय आएको छ : ट्रम्प

Zenith Migration Education

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको लामो शासनको कडा आलोचना गर्दै इस्लामिक गणतन्त्रमा ‘नयाँ नेतृत्व खोज्ने समय आएको’ टिप्पणी गरेका छन् छ । इरानमा बढ्दो मुद्रास्फीति, गहिरिँदो आर्थिक सङ्कट र शासनप्रति जनआक्रोश तीव्र बन्दै जाँदा सरकारविरोधी प्रदर्शनहरू फैलिरहेको सन्दर्भमा राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।

पोलिटिकोसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले तेहरानको नेतृत्वले सत्ता जोगाइराख्न हिंसा र दमनको सहारा लिएको आरोप लगाए ।

“देशको नेताका रूपमा उहाँ आफ्नो देशको लगभग पूर्ण विनाश र इतिहासमै नदेखिएको स्तरको हिंसाको प्रयोगका लागि जिम्मेवार हुनुहुन्छ”, ट्रम्पले पोलिटिकोमार्फत भने, “देश चलाइराख्न—त्यो काम निम्न स्तरको भए पनि—नेतृत्वले आफ्नै देशलाई सही तरिकाले सञ्चालन गर्न ध्यान दिनुपर्छ, जसरी मैले संयुक्त राज्य अमेरिकामा गरेको छु । नियन्त्रण कायम राख्न हजारौँ निर्दोष मानिसहरू मार्न आवश्यक हुँदैन ।”

राष्ट्रपति ट्रम्पका अनुसार साँचो नेतृत्व डर र मृत्युमाथि होइन, सम्मानमाथि निर्माण हुन्छ । उनले व्यक्तिगत रूपमा खमेनीको आलोचना गर्दै उनलाई ‘एक बिरामी मानिस’ को संज्ञा दिनुभयो र इरानलाई कमजोर नेतृत्वका कारण संसारमा बस्न सबैभन्दा खराब स्थानमध्ये एक भएको टिप्पणी गरे । “उहाँले आफ्नो देश राम्रोसँग चलाउनुपर्छ र आफ्नै नागरिकलाई मार्न बन्द गर्नुपर्छ”, ट्रम्पले भने ।

राष्ट्रपति ट्रम्पको यो टिप्पणी इरानी सर्वोच्च नेता खमेनीले सामाजिक सञ्जाल एक्समा शृङ्खलाबद्ध पोस्ट गर्दै इरानमा भइरहेको अशान्ति र हताहतका घटनाका लागि अमेरिकालाई दोष लगाएपछि आएको हो । खमेनीले अमेरिकी राष्ट्रपतिमाथि इरानी जनताको वास्तविक इच्छालाई गलत रूपमा चित्रण गर्दै हिंसात्मक समूहहरूलाई समर्थन गरेको आरोप लगाएका छन् ।

“अमेरिकी राष्ट्रपतिले तोडफोड, आगजनी र मानिसहरूको हत्या गर्ने समूहहरूलाई ‘इरानी राष्ट्र’ का रूपमा प्रस्तुत गरे । उनले इरानी जनतामाथि भयावह निन्दा गरे । हामी यस बदनामीका लागि अमेरिकी राष्ट्रपतिलाई दोषी ठान्दछौँ”, खमेनीले लेखेका छन् ।

उनले थप आरोप लगाउँदै भने, “अमेरिकी राष्ट्रपतिले राजद्रोहीहरूलाई समर्थन गर्ने र उनीहरूलाई सैन्य सहयोग उपलब्ध गराउने सन्देश दिनुभयो । अर्को शब्दमा भन्नुपर्दा, अमेरिकी राष्ट्रपति स्वयं देशद्रोहमा संलग्न हुनुहुन्छ । यी आपराधिक कार्यहरू हुन् ।”

ट्रम्प र खमेनीबीचको यस्ता अभिव्यक्तिहरूले वासिङ्टन र तेहरानबीच बढ्दो तीव्र बयानबाजीलाई थप उजागर गरेको छ । विश्लेषकहरूका अनुसार यसले इरानभित्र जारी राजनीतिक अस्थिरता र शासन प्रणालीप्रति गहिरिँदो विभाजनलाई समेत स्पष्ट रूपमा देखाएको छ ।

यसैबीच, मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) का अनुसार इरानमा देशव्यापी विरोध प्रदर्शन २१औँ दिनमा प्रवेश गरिसकेको छ । देशभर इन्टरनेट ब्ल्याकआउट जारी छ भने सुरक्षा निकायहरूले कडा दमनात्मक कारबाही सञ्चालन गरिरहेका छन् ।

एचआरएएनएबाट पुष्टि भएका विवरणअनुसार हालसम्म विरोध प्रदर्शनका क्रममा तीन हजार ३०८ जनाको मृत्यु भइसकेको छ भने थप चार हजार ३८२ घटनाबारे अनुसन्धान जारी रहेको छ । अहिलेसम्म दुई हजार १०७ जना गम्भीर घाइते भएको र कम्तीमा २४ हजार २६६ जनालाई पक्राउ गरिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

यसै सन्दर्भमा खमेनीले पहिलो पटक सार्वजनिक रूपमा अशान्तिका क्रममा ‘हजारौँ मानिसहरूले’ ज्यान गुमाएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु