काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन सशस्त्र प्रहरी बल नेपालले सुरक्षा तयारी तीव्र पारेको छ । प्रवक्ता मनिष थापाका अनुसार निर्वाचन सुरक्षामा कुनै पनि प्रकारको ‘कम्प्रोमाइज’ हुँदैन ।
निर्वाचनका लागि सशस्त्र प्रहरीका ३४ हजार ५७६ र १५ हजार ११० निर्वाचन प्रहरी गरी करिब ४९ हजार जनशक्ति परिचालित हुनेछन् । संवेदनशीलताका आधारमा क्षेत्र वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ । विशेष कार्यदल, क्विक रियाक्सन टिम तथा मोबाइल टोली तयारी अवस्थामा राखिएको छ ।
कुनै अप्रिय अवस्था आए १० मिनेटभित्र घटनास्थल पुग्ने व्यवस्था गरिएको थापाले बताए । फरार कैदी र लुटिएका हतियार मुख्य चुनौती नरहेको र अधिकांश नियन्त्रणमा आइसकेको उनले स्पष्ट पारे ।
सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण र निर्वाचन सुरक्षामा सशस्त्र प्रहरी सक्रिय रहेको बताउँदै उनले आम मतदातालाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे ।



