काठमाडौँ । अग्रज कलाकार हरिवंश आचार्यले काठमाडौँमा सवारीसाधनको चाप धेरै भइसकेको बताएका छन् । शनिबार ट्राफिक सप्ताह तथा दुर्घटना न्यूनीकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले मानिसहरु ट्राफिक नियममा विस्तारै बाँधिरहेको तर सवारीसाधनको व्यवस्थापनमा समस्या आइरहेको बताए । भविष्यमा सवारीसाधन चलाउनै नसक्ने स्थितिमा पुग्नसक्ने उनको भनाइ छ । सडक विस्तार गर्न समेत जमिन अधिग्रहण गर्न नसक्ने स्थितिमा सरकार रहेको बताए ।
उनले भने, ‘‘ट्राफिक नियममा हामी विस्तारै बाँधिदै छौँ । हाम्रा अग्रजहरुले काठमाडौँ शहरको पारित गर्दा नेपालको सम्बन्ध बढ्छ, सम्बन्धको साधक सवारीसाधन पनि हो । सम्बन्ध बढ्दै गइसकेपछि सवारीसाधन बढ्छन् भनेर सोचेर बनाएको भए यो स्थिति आज भोग्न पर्दैन थियो । भोलिका दिनमा हामीले गाडी चलाउने ठाउँ नपाउन सक्छौँ । काठमाडौँमा सवारीसाधन धेरै भइसकेका छन् । भयावह स्थिति भइसकेको छ । अब बाटो फराकिलो गर्न जमिन अधिग्रहण गर्न पनि सरकारसँग कुनै सामथ्र्य छैन ।’’
कलाकार आचार्यले यसका लागि ट्राफिक व्यवस्थापनमा गम्भीरताका साथ लाग्नुपर्ने बताए ।



