सिड्नी, पुस ७, २०८२ – अस्ट्रेलियामा रहेका प्रवासी नेपालीको पहलमा स्थापना गरिएको टु शेर्पा ब्रुअरीले अन्तर्राष्ट्रिय क्राफ्ट बियर उद्योगमा उल्लेखनीय सफलता हासिल गर्दै छुट्टै पहिचान बनाएको छ। सानो सोच तर ठूलो विश्वाससहित सुरु भएको यो यात्रा आज विश्वका प्रतिष्ठित मञ्चहरूमा प्रस्तुत हुन सफल भएको जानकारी कम्पनीका निर्देशक दिपेश श्रेष्ठले सिड्नीमा आयोजित कार्यक्रममा दिए।
श्रेष्ठले हालै सम्पन्न कार्यक्रममा कम्पनीको स्थापना र विकास यात्रा, साथै भविष्यका योजनाबारे विवरण दिंदै यो प्रयास केवल व्यवसायिक सफलतामा सीमित नहुने, नेपाली पहिचान, हिमाली प्रेरणा र नेपाली ब्रान्डलाई विश्व बजारसम्म पुर्याउने उद्देश्यले अघि बढिरहेको बताए।
ब्रुअरीले अस्ट्रेलियाकै सबैभन्दा ठूलो र प्रतिष्ठित क्राफ्ट बियर महोत्सव ग्याब्स (GABS) मा उत्पादन छनोट हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेको छ। विश्वका चर्चित क्राफ्ट बियर ब्रान्डहरूसँगै एउटै मञ्चमा आफ्नो स्थान सुरक्षित गर्नु टु शेर्पाको गुणस्तर, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमताको प्रमाण भएको बताइएको छ।
त्यसै क्रममा कम्पनीले जापानमा पनि आफ्ना उत्पादनहरू निर्यात सुरु गरेको छ। हिमालयन लागर, एभरेष्ट पेल एल, यती र रक जक नामका बियरहरू जापानी बजारमा परिचय गराउन थालिएको निर्देशक श्रेष्ठले जानकारी दिए। आकार र उत्पादन अस्ट्रेलियामा भए पनि यी बियरहरू जापानमा गर्वका साथ नेपाली बियरको पहिचानसहित प्रस्तुत गरिने र यसले नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
सो अवसरमा कम्पनीले नयाँ उत्पादन पीकी पिल्सनर पनि सार्वजनिक गरेको छ। हिमाली ताजापन र युरोपेली बियर शैलीको सन्तुलित मिश्रणमा तयार गरिएको यो बियरले उपभोक्तालाई नयाँ स्वाद र उच्च गुणस्तरको अनुभव दिने अपेक्षा गरिएको छ।
कम्पनीका अर्का निर्देशक शुजील शाहीले टु शेर्पाका बियरहरू अस्ट्रेलियाका प्रतिष्ठित प्रमुख तीन जनासँगै ‘शीर्ष १०० बियर’ सूचीमा मनोनयनमा परेका खबरले नेपाली समुदाय तथा शुभचिन्तकहरूलाई गर्वको विषय बनेको बताए। उनले अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई मुलुकको पहिचान प्रवर्द्धनमा लागिपरेको टु शेर्पालाई माया र सद्भाव राखिदिन अनुरोध गरेका छन्।
यी बियरहरू हाल अस्ट्रेलियाका प्रमुख मदिरा विक्रेता डान मर्फी र बीडब्लुएस लगायतका स्टोरहरूमा बिक्री–वितरण भइरहेको जानकारी पनि कार्यक्रममा दिइएको छ। कम्पनीले अस्ट्रेलियामा बने तापनि नेपालको पानीको स्वाद र नेपाली नाममा नामाकरण गरिएका यी बियरहरूले मुलुकको पहिचान अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।



