Sunday, January 18, 2026
Zenith Migration Education
Sunday, January 18, 2026

नेपाल ट्रस्ट जग्गा प्रकरण : यतीलाई दरबारमार्गमा जग्गा, ओलीका पिएलाई बालकोटमा घर

Zenith Migration Education

यती समूहको थामसेर्कु ट्रेकिङलाई दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा भएको अनियमिततामा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीका पिए राजेश बज्राचार्य पनि संलग्न देखिएका छन् । बालकोटस्थित रोजभिलेज हाउजिङभित्रको झन्डै चार आना जग्गामा बनेको अढाईतले घर उनले यती समूहबाटै लिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा देखिएको छ । पदीय दुरुपयोग गरी सो घर ‘घुसबापत’ लिएको हुन सक्ने भन्दै सीआईबीले भ्रष्टाचारमा थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ ।

सीआईबीले दरबारमार्गको जग्गा लिज हिनामिनासम्बन्धी अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । सरकारी वकिल कार्यालयले मुद्दा अदालतमा लैजाने अन्तिम तयारी गरेको छ । सिआइबीले सो मुद्दामा नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की तथा सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरी सूक्ष्म र विस्तृत अनुसन्धान गरेको थियो । यसक्रममा राजनीतिक संलग्नताको तथ्यहरू भेटाएको हो ।

रोजभिलेज हाउजिङको ए–२४ नम्बरको घर सात वर्षअघि तारा एयरबाट राजेशकी श्रीमती रश्मि शाक्यको नाममा पास भएको थियो । राजेश दुई वर्षयता त्यही घरमा बस्दै आएका छन् । घर राजीनामा पास गर्दा त्यसको भुक्तानीसमेत नभेटिएको भन्दै सीआईबीले भ्रष्टाचारको कसुरमा अनुसन्धान गर्न अख्तियारलाई सिफारिस गरेको छ । त्यतिवेला ओली प्रधानमन्त्री थिए भने राजेश उनका स्वकीय सचिव भएकाले पनि सिआइबीले यसमा छुट्टै छानबिनको आवश्यकता देखेको हो ।

सीआईबीले तत्कालीन सचिव र सहसचिवसहित थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पालाई मुद्दा चलाउन सिफारिस गरेको छ । त्यस्तै, यती समूहकै तारा एयरबाट घर पास गरेर लिने रश्मि शाक्य र राजेश बज्राचार्यको हकमा भ्रष्टाचार मुद्दा आकर्षित हुन सक्ने भन्दै सोहीअनुसार राय दिएको छ । उच्चपदस्थ जोडिएपछि यस विषयमा जिल्ला सरकारी वकिल कार्यालयले महान्यायाधिवक्ता कार्यालयसँग समेत छलफल गरिरहेको छ ।

सरकारी वकिल कार्यालय स्रोतका अनुसार १ साउन ०७५ मा तारा एयरलाइन्सको भक्तपुर रोजभिजेलमा रहेको १७५३ नम्बर कित्ताको जग्गा रश्मि शाक्यको नाममा पास भएको छ । १२३।२० वर्गमिटर ९करिब चार आना० क्षेत्रफलको जग्गा र त्यसमा रहेको साढे दुई तला घर ९६ लाख रुपैयाँमा खरिद–बिक्री भएको जिल्ला मालपोत कार्यालय, भक्तपुरको अभिलेखमा उल्लेख छ । त्यही समयमा यती समूहका कम्पनीले नेपाल ट्रस्टका जग्गाको लिज ठेक्का पाएको, उनीहरूबिच निकटस्था देखिएको र खरिदमा कुनै आर्थिक लेनदेन नदेखिएकाले सो रकम घुस नै भएको सीआईबीको निष्कर्ष छ । त्यसमा अनुसन्धान गर्ने आफ्नो अधिकार क्षेत्र नभएको भन्दै सीआईबीले देखिएका–भेटिएका तथ्यसहित अख्तियारमार्फत छानबिन गर्न राय दिएको हो ।

सीआईबीले सो अवधिदेखि हालसम्मको तारा एयरलाइन्सको १५ वटा बैंक खाताको विवरण मगाएर अनुसन्धान गरेको थियो । साथै, राजेश र रश्मिको पनि बैंक स्टेटमेन्ट अध्ययन गरेको थियो । तर, सो जग्गा खरिदमा तारा एयर र बज्राचार्यको परिवारबिच कुनै लेनदेन नदेखिएको अनुसन्धानमा आबद्ध सीआईबीका एक अधिकारी बताउँछन् । जबकि घरजग्गाको कारोबार गर्दा अनिवार्य रूपमा बैंकिङ कारोबार गरी मालपोत कार्यालयमा त्यसको रसिदसमेत बुझाउनुपर्ने नियम छ । तर, बज्राचार्यदम्पती र तारा एयरको कुनै पनि खातामा घरजग्गा कारोबारबापत लेनदेन भएको छैन । त्यतिवेला सरकारकै पहलमा यतीलाई नेपाल ट्रस्टको विभिन्न स्थानमा रहेका जग्गा नियम मिचेर लिजमा दिनु र त्यही समयमा सोही कम्पनीको नाममा रहेको जग्गा प्रधानमन्त्रीकै पिएले लिनु र त्यसमा आर्थिक लेनदेनसमेत नभएको आधारमा यो घुस भएको निष्कर्ष सीआईबीका अधिकारीको छ । नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु