Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

मधेसको मुख्यमन्त्री नियुक्ति र सभामुखको विरोधमा जनकपुरमा प्रदर्शन, चौरमा प्रदेशसभा सञ्चालन

Zenith Migration Education

मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति र सभामुख विरुद्ध ७ राजनीतिक दलले आन्दोलन जारी राखेका छन् ।

मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको र सभामुखले पदीय आचरण विपरीत कार्य गरेको विरोधमा राजनीतिक दलहरूले कार्यकर्ता उतारेर शनिवार पनि जनकपुरमा प्रदर्शन गरेका हुन् ।

यसअघि पनि प्रदेशसभा सदस्यहरूले मधेस भवन अगाडी धर्ना दिँदै आएका थिए । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलका संसदीय दलका नेताको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् भने २४ गते एक होटलमा शपथग्रहण गराएकी थिइन् ।

सात दलले ७४ जना प्रदेश सभाको समर्थन रहेको भन्दै संविधानको धारा १६८ को उपधारा २ को आधारमा बहुमतीय सरकार बनाउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए तर उपधारा २ अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै गलत नियतले उपधारा ३ प्रयोग गरेर एमालेको नेतृत्वमा सरकार बनाएको भन्दै ७ दलका नेताहरू विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

७ राजनीतिक दलहरूले सभामुख रामचन्द्र मण्डलविरुद्ध भने पदीय आचरण वितरित कार्य गरेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सभामुख मण्डलविरुद्धको अविश्वासको प्रस्ताव लिएर जाने क्रममा सांसदहरूमाथि हातपात समेत भएको थियो । आफू विरुद्ध अविश्वासको प्रस्ताव आएपछि सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिए ।

सरकार गठन र सभामुखको कदमको विरोधमा ७ दलीय मोर्चाले कार्यकर्ता उतारेर शनिवार जनकपुरमा प्रदर्शन गरेका हुन् ।

यसैबीच मधेस प्रदेशकी उपसभामुख वविताकुमारी राउतले चौरमा प्रदेशसभा सञ्चालन गरेकी थिइन् ।

सभामुखमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि यसको प्रक्रिया अगाडी बढाउनुपर्ने उपसभामुख राउतले बताइन् । उनले सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसदहरूलाई पदमुक्त गर्न नमिल्ने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु