सिड्नी — अष्ट्रेलियामा तीन दशकदेखि सक्रिय समाजसेवी तथा सफल व्यवसायी नन्द गुरुङद्वारा लिखित पुस्तक ‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थान : सफलताको उपाय (A Blueprint of Success)’ को भव्य लोकार्पण समारोह आइतबार सिड्नीको ग्राण्ड प्यालेस फङ्सन सेन्टर, ओबर्नमा सम्पन्न भएको छ।

कार्यक्रमकी प्रमुख अतिथि अष्ट्रेलियास्थित नेपालकी राजदूत चित्रलेखा यादव, विशेष अतिथि न्यू साउथ वेल्सका वाणिज्यदूत सञ्जीव शर्मा तथा नेपालबाट आएका बर्डलाइफ इन्टरनेशनल (एशिया) का वरिष्ठ साझेदारी प्रबन्धक डा. हुमबहादुर गुरुङले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।

राजदूत यादवले विदेशमा रहेर मातृभूमिप्रतिको माया र नेपाली समाजप्रतिको प्रतिबद्धता झल्काउने यस्ता कृतिहरू नेपालीहरूको गौरव भएको बताइन्। उनले भनिन्, “लेखक गुरुङले आफ्नो व्यस्त जीवनबाट समय निकालेर सिर्जना गरेको यो पुस्तक नेपाली समाज र युवापुस्ताका लागि प्रेरणादायी बन्न सक्छ।” साथै उनले नेपालको ‘जेनजी आन्दोलन’ का सहिद परिवार तथा घाइतेहरूका लागि नेपाल सरकारले सुरू गरेको सहयोग कोषमा सहयोग गर्न उपस्थित सबैलाई आग्रहसमेत गरिन्।

वाणिज्यदूत सञ्जीव शर्माले गुरुङको लेखन प्रयासको प्रशंसा गर्दै भने, “प्रवासी नेपालीहरू यस्ता सृजनात्मक कार्यमा संलग्न हुँदा त्यसले समुदायको पहिचानलाई बल दिन्छ। यस्ता पुस्तकहरूले भावी पुस्ताका लागि मार्गदर्शनको स्रोत बन्न सक्छ।

डा. हुमबहादुर गुरुङले पुस्तकको विषयवस्तुले समुदाय, प्रकृति र आत्मविकासबीचको सम्बन्धलाई सन्तुलित रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै लेखकलाई आगामी लेखन यात्रामा शुभकामना दिए।
कार्यक्रममा तमु समाज अष्ट्रेलियाका अध्यक्ष हेउपती गुरुङ, समाजसेवी इन्द्रा वन नारायण प्रधान, एनजा सल्लाहकार तथा आईसीसीका पूर्व सदस्य डिल्लि ढकाल, डा. घनश्याम चापागाईं, साहित्यकार ममता तिवारी, नेपाली कला संस्कृति प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत, थारु समाज अष्ट्रेलियाका अध्यक्ष दीप नारायण चौधरी, र पत्रकार संघ (एन्जा) का अध्यक्ष कृष्ण तिवारीलगायत अतिथिहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

सफल व्यवसायीका रूपमा परिचित रञ्जित शाह पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रमको सञ्चालन युवा समाजसेवी सबला बस्नेतले गरेकी थिइन्।

लेखक नन्द गुरुङले सबै अतिथि र सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै भने, “यो पुस्तक मेरो जीवनका संघर्ष, अनुभव र सिकाइको प्रतिबिम्ब हो। तपाईंहरूको माया र समर्थनले नै मेरो लेखन यात्रालाई निरन्तरता दिएको छ। गुरुङ समुदायको उत्थानका लागि आगामी कृतिहरूमा अझ व्यापक प्रतिनिधित्व सुनिश्चित गर्ने मेरो योजना छ।”



