नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन् ।
गत भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा देउवा दम्पती घाइते भएका थिए । सो घटनामा सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने निवासमा आगजनी समेत भएको थियो ।
त्यस दिन नेपाली सेनाले उद्धार गरेर देउवा दम्पतीको प्रारम्भिक उपचार गरिएको थियो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा रहेको पुष्टि गरेका छन् । तर, कहिले जाने भन्ने निश्चित भइसकेको छैन । देउवा निकट नेताहरूका अनुसार उनी एक-दुई दिनभित्रै सिंगापुर प्रस्थान गर्ने सम्भावना छ । यद्यपि, सभापति देउवाको सचिवालयले यस विषयमा औपचारिक जानकारी दिएको छैन ।
यसैबीच, असोज २८ गते सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय समिति बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहाका खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए । उपचार र आरामका लागि विश्राम लिनु परेको उनको भनाइ थियो ।



