Wednesday, September 23, 2026
Zenith Migration Education
Wednesday, September 23, 2026

बाजुराको कोल्टी आधारभूत अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

Zenith Migration Education

बाजुरा । बाजुराको पुर्वि उत्तरी क्षेत्रको बुढिनन्दा नगरपालिका १ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पतालमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 

दुर्गमका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्न लागिएको बुढिनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले बताए । उनका अनुसार,एक एक पाइला, गेटा आँखा अस्पताल र बुढीनन्दा नगरपालिका बीचको समन्वयमा शिविर सञ्चालन गर्न लागिएको हो ।

शिविर सञ्चालनले दुर्गमका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास लगिएको शाहीले बताएका छन् । साथै माथिल्लो क्षेत्रका ४ वटा स्थानीय तहका नागरिक संगै छिमेकी जिल्ला हुम्ला,मुगु, कालिकोट लगातय १७ पालिकाका नागरिक शिविरबाट लाभान्वित हुने उनको भनाइ छ । 

बृहत् निः शुल्क स्वास्थ्य शिविर यहिँ कार्तिक २४ गते सोमबार विहान १० बजेदेखि कार्तिक २६ गते बुधबारसम्म सञ्चालन गरिने भएको छ । शिविरमा नाम दर्ताको लागी विहान १० बजेदेखि दिउँसो ३ः३० बजेसम्मको समय तोकिएको छ । निःशुल्क रुपमा आयोजना हुन लागेको बृहत स्वास्थ्य शिविरमा सहभागी भई मौकाको फाईदा लिन आग्रह गरिएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा आँखा रोग सेवा ( मोतिबिन्दुको निःशुल्क शल्यक्रिया) जेनेरल मेडिसिन, छाला रोग सेवा,नाक, कान, घाँटी रोग सेवा,स्त्री तथा प्रसुती रोग ,दाँत रोग सेवा,सामान्य शल्यक्रिया सेवा,कलेजो रोग ,हाड तथा जोर्नी रोग सेवा,बाल रोग ,प्याथोलोजी सेवा, रेडियोलोजी , इन्डोस्कोपी सेवा र  फार्मेसी लगायतका सेवाहरु प्रदान गरिने भएको छ ।

कोल्टी आधारभूत अस्पतालले पछिल्लो समय गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । दुर्गमका नागरिकलाई सहज रुपमा सेवा प्रदान गरेकोमा कोल्टी अस्पताललाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा पुरस्कृत समेत गरिएको थियो। कोल्टी आधारभुत अस्पतालमा अहिले स्त्रीरोग विशेषज्ञ, ओटी नर्स, डिजिटल एक्स–रे, रक्तसञ्चार सेवा, एनेस्थेसिया, फार्मासिस्ट, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, अप्थाल्मिक असिस्टेन्ट लगायतका जनशक्ति छन् ।

गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे, प्रयोगशालाको डिजिटलीकरण, अनलाइन प्रतिवेदन प्रणाली, डिजिटल बिलिङ सेवा जस्ता आधुनिक सुविधा सुरु भएका छन् । 

जुन नगरपालिकाको पहल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको सहकार्यमा यस्ता सेवाहरु सूचारू भएका हुन्।प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा रहेको कोल्टी अस्पताल अहिले आधारभूत अस्पतालमा परिणत भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु