Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

हमासले बुझाएको शव विपिनकै भएको पुष्टि

Zenith Migration Education

इजरायली सेनाले मङ्गलबार हमासले फिर्ता गरेका चार जना बन्धकमध्ये एक नेपाली विद्यार्थी बिपिन जोशी र इजरायली नागरिक गाइ इलुजको शव पहिचान गरिएको पुष्टि गरेको छ । अन्य दुई बन्धकको नाम भने परिवारको अनुरोधमा हाललाई सार्वजनिक गरिएको छैन ।

इजरायली सेनाले एक विज्ञप्तिमा २६ वर्षीय गाइ इलुज सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा दक्षिण इजरायलमा आयोजित नोभा सङ्गीत महोत्सवमा सहभागी भएका बेला अपहरणमा परेका थिए ।

आक्रमणको समय उनी जिपमा भाग्ने प्रयासमा थिए र पछि रूखमा लुके , जहाँबाट उनले आफ्ना आमाबाबुसँग अन्तिम सम्पर्क गरे । त्यसपछि उनलाई कब्जा गरी गाजामा लगिएको थियो ।

सेनाका अनुसार इलुज अपहरणका क्रममा घाइते भएका थिए र कैदमा रहँदा उपचारको अभावमा मृत्यु भएको थियो । उनको मृत्युको सटीक मिति सार्वजनिक नगरिए पनि सन् २०२३ डिसेम्बरमा उनको निधन पुष्टि गरिएको थियो । इलुज प्रसिद्ध इजरायली सङ्गीतकारहरूका लागि ध्वनि टेक्निसियनको रूपमा कार्यरत थिए।

२२ वर्षीय नेपाली विद्यार्थी विपीन जोशी हमासको आक्रमण हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि तालिमका लागि इजरायल पुगे । उनी किबुट्ज अलुमिममा रहेका बेला अपहरणमा परेका थिए । आक्रमण हुनुअघि उनले त्यहाँका थाई कामदारहरूसँग शरण लिएको एउटा तस्बिर सार्वजनिक भएको थियो । इजरायली सेनाका अनुसार युद्धको पहिलो महिनाहरूमा कैदमै उहाँको हत्या गरिएको अनुमान गरिएको छ ।

जोशीका सहपाठी हिमाञ्चल कट्टेलले एएफपीसँगको कुराकानीमा आक्रमणका क्रममा आतङ्ककारीहरूले लुकेका आश्रयमा ग्रेनेड फ्याँकेको जसलाई जोशीले समातेर विस्फोट हुनुअघि बाहिर फ्याँकिदिनुभएको बताए । ‘उहाँको वीरताले मेरो ज्यान बचायो’, कट्टेलले भावुक हुँदै भने ।

होस्टेजेस एन्ड मिसिङ फेमिलिज फोरम नामक मुख्य इजरायली समूहले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गाइ र विपीनको पुनरागमनले दुई वर्षभन्दा बढी समयदेखि पीडादायी अनिश्चिततामा बाँचिरहेका परिवारहरूलाई केही हदसम्म सान्त्वना दिएको छ । तर हामी सबै २४ जना बन्धक घर फर्किएसम्म आराम गर्नेछैनौँ ।’

हमासले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताको एक अङ्गका रूपमा सबै २० जना जीवित बन्धक रिहा गरेसँगै चार शव फिर्ता गरेको थियो । प्यालेस्टिनी लडाकूहरूका हातमा अझै २४ जना बन्धकका शव रहेका छन् । ती शवलाई पनि युद्धविराम सम्झौताका सर्तअनुसार निकट भविष्यमा फिर्ता गरिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु