Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

गाजापट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु, अस्पतालहरूको अवस्था भयावह

Zenith Migration Education

एजेन्सी । हमास–इजरायली द्वन्द्वका कारण विगत दुई वर्षमा गाजा पट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्र बाल कोष (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का अधिकारीहरूले गाजाका अस्पतालहरूको अवस्था भयावह रहेको चेतावनी दिए।

जारी युद्धको बीचमा गाजाको स्वास्थ्य सेवा प्रणाली लथालिंग भएको उनीहरुले बताएका छन् । युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा विगत दुई वर्षमा १,००० भन्दा बढी शिशुहरू मारिएको स्पष्ट पारे ।

‘नयाँ आमाहरू र कमजोर नवजात शिशुहरू छन् । जो भुइँमा, अस्पतालको करिडोरमा सुतिरहेका छन्। म तीन जन्मेका शिशुहरूसँग बसेको थिएँ जसले एउटै अक्सिजन स्रोत आदनप्रदान गरिरहेका थिए। तिनीहरूले २० मिनेटसम्म आदनप्रदान गर्छन, अन्य दुई बच्चाहरू रुन्छन् जबकि तेस्रो बच्चाले २० मिनेटसम्म त्यो अक्सिजन पाउँछ,’एल्डरले भने ।

गाजाको ३६ अस्पतालहरू मध्ये लगभग १४ वटा मात्र खुला छन् भने अन्य केही आंशिक रूपमा खुलेको उनले बताए । डब्लुएचओका कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रका प्रतिनिधि रिक पेपरकोर्नका अनुसार निरन्तर हवाई आक्रमण र जबरजस्ती विस्थापितहरूले उत्तरी गाजामा चिकित्सा सेवा लगभग असम्भव बनाएको छ।

अक्टोबर ७, २०२३ मा हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या ६६,२८८ पुगेको छ भने अन्य १,६९,१६५ जना घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले शुक्रबार एक विज्ञप्तिमा बताएका छन्। (सीसीटीभीप्लस)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु