Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

वेस्ट इन्डिजलाई ९० रनलले हराउँदै नेपालले एक खेलअगावै जित्यो शृंखला

Zenith Migration Education

नेपाली क्रिकेट टोलीले युएईमा जारी युनिटी कप टी-२०आई शृंखलामा वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गर्दै एक खेल अगावै शृंखला आफ्नो नाममा लेखाएको छ । सोमबार भएको खेलमा टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले एक खेलअगावै शृंखला जितेको हो ।

नेपालले प्रस्तुत गरेको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज ले १७ ओभर १ बलमा मात्र ८३ रनमा अलआउट हुन पुग्यो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

वेस्ट इन्डिजको ब्याटिङ क्रमलाई ध्वस्त पार्ने क्रममा नेपाली युवा स्पीनर आदिल आलमले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २४ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए । कुशल भुर्तेलले ३ विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनको विशाल योगफल तयार पारेको थियो । नेपालको इनिङ्समा ओपनर आसिफ शेख र युवा ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट प्रदर्शन गरे । आसिफ शेखले संयमित ब्याटिङ गर्दै ४७ बलमा अविजित ६८ रन बनाए भने सन्दीप जोराले आक्रामक रूपमा ३९ बलमा ६३ रन जोडे ।

एक समय ४३-३ को कमजोर अवस्थामा रहेको नेपालको इनिङ्सलाई आसिफ र जोराले चौथो विकेटका लागि १०० रनको सानदार साझेदारी गर्दै बलियो स्थितिमा पुर्‍याएका थिए । वेस्ट इन्डिजका कप्तान अकिल होसेनले २ विकेट लिँदा काइल मेयर्स र जेदिया ब्लेड्सले १-१ विकेट लिएका थिए ।

यस जितसँगै नेपालले टेस्ट राष्ट्रविरुद्धको पहिलो ऐतिहासिक शृंखला जित्दै अन्तर्राष्ट्रिय क्रिकेट जगतमा आफ्नो बलियो उपस्थिति देखाएको छ । यसअघि पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु