Tuesday, September 22, 2026
Zenith Migration Education
Tuesday, September 22, 2026

शिक्षामन्त्रीको तीन बुँदे कदम : सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक, विश्वविद्यालयको परीक्षाफल तीन महिनामै

Zenith Migration Education

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जिम्मेवारी सम्हालेको भोलिपल्टै तीनवटा कदम सार्वजनिक गरेका छन्।

मंगलबार उनले सामाजिक सञ्जालमार्फत् तीन तीनवटा कदम सार्वजनिक गरेका हुन् । ‘काम तुरुन्त अघि बढाउन मैले तीन वटा साना तर महत्त्वपूर्ण कदमहरू उठाएको छु’, उनले भनेका छन् ।

पुनका ३ बुँदे कदम

१) सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य : नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा एक जनाको दरबन्दी तोकी अनिवार्य रूपमा कम्प्युटर शिक्षक नियुक्त गर्नुपर्ने व्यवस्था गर्ने।

२) परीक्षाफल प्रकाशन तीन महिनाभित्रै : केही विश्वविद्यालयले ८ महिना देखि १ वर्षसम्म परीक्षाफल निकाल्न ढिलाइ गर्ने प्रचलन अन्त्य गर्न निर्देशन दिने। उनले भने, ‘अब बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्नुपर्नेछ। समयमा ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिनेछ।’

३) त्रिवि परिसर सफाइ र सौन्दर्यीकरण : त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा रहेको झाडी फाँड्ने (ठूला रुख नकट्ने गरी) र आकर्षक बगैँचा तथा फुटपाथ निर्माण गर्ने।

पुनले मंगलबार भने, ‘१२ कक्षाको ५ लाख विद्यार्थीको नतिजा राष्ट्रिय परीक्षा बोर्डले ३ महिनामै निकाल्छ भने विश्वविद्यालयहरूले वर्षौं ढिलाइ गर्नु अस्वीकार्य छ। सुधार गर्न अवैधता चल्दैन।’

उनले साना भए पनि यी कदमहरूले शिक्षा क्षेत्रमा सुधारको सन्देश दिने र विश्वविद्यालय तथा विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्न मद्दत गर्ने विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु