Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

तयार भयो वीरगञ्जको घण्टाघर

Zenith Migration Education

पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको संरचना सात महिनापछि मर्मतसम्भार गरिएको छ । गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ संरचना कमजोर भएर इँटा झरेको थियो ।

वीरगञ्ज महानगरले घण्टाघरको भत्किएको संरचना मर्मतसम्भार र रङरोगन गरेर फेरि पहिलाकै अवस्थामा ल्याएको छ । वीरगञ्ज महानगर भूमि व्यवस्था तथा सहरी विकास महाशाखा प्रमुख प्रभात झाले वीरगञ्जको प्रतीक घण्टाघर मर्मतसम्भार गरेर घुम्टो पनि हटाइएको जानकारी दिए। उनले भने, ‘घण्टाघरको संरचना मेसिन प्रयोग गरेर मर्मतसम्भार गर्न गर्न सकिने अवस्था थिएन । ऐतिहासिक धरोहर भएकाले पनि म्यानुअल ढङ्गले मर्मतसम्भार गर्दा केही समय बढी लागेको हो । अहिले घण्टाघरको लगभग सबै संरचना निर्माणको काम सकिएको छ ।’

महाशाखा प्रमुख झाले घण्टाघर वरपर अत्याधिक सवारीसाधनको चाप बढी हुने भएकाले सवारीसाधन र यात्रुको सुरक्षालाई ध्यान दिँदै कन्ट्रक्सन नेटअर्थात् झालीले ढाकेर मर्मतसम्भार गरिएको बताए । ‘अहिले घण्टाघरको वरपर लगाइएको स्काफोल्डिङ र कन्स्ट्रक्सन जाली समेत हटाइसकेका छौँ, उनले भने, मर्मतसम्भारपछि घण्टाघर कम्तीमा पनि १० वर्षसम्मका लागि टिकाउ हुने विश्वास गरेका छौँ । यद्यपि घण्टाघरभित्रका संरचना भने पुरानो हुँदै पनि गइरहेका छन् ।’

महाशाखा प्रमुख झाले घण्टाघर निर्माण करिब २० लाखभन्दा कममा हुने आकलन गरेको बताए । ‘अहिलेसम्म त बिल तयार भइसकेको छैन, उनले भने, सो अनुमानित लागतभन्दा कममा नै होला भन्ने विश्वास लिएका छौँ ।’ घण्टाघर निर्माणको ठेक्का भने महाशक्ति कन्स्ट्रक्सनले पाएको थियो । वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षणको रूपमा घण्टाघर रहँदै आइरहेको छ ।

महाशाखा प्रमुख झाले घण्टाघरको बाल्कोनीमा आकाशे पानीको उचित निकास नहुँदा घामपानीले बाल्कोनीमा क्षति गरेको जानकारी दिए । “घण्टाघरको मर्मतसम्भार माथिल्लो बाल्कोनीमा पुगेर गर्नुपर्ने भएकाले पनि केही समय बढी लागेको हो”, उनले भने, “हामीले मर्मतसम्भार गरेर घण्टाघर पुरानै संरचनामा ल्याइसकेका छौँ ।वीरगञ्जको घण्टाघर सन् १९७९ फेब्रुअरी ८ तारिखमा तयार भएको बताइन्छ । त्यो बेला जापानको योनागो सहरका विद्यार्थीको एक दिनको खाजाको पैसा कटाएर घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको स्थानीय ज्येष्ठ नागरिकहरूको कथन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु