मणिपुर (नयाँदिल्ली) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको आगमन महिला सशक्तीकरणको बहुत उत्तम उदाहरण रहेको बताएका छन् ।
मणिपुरमा आयोजित एक सभालाई सम्बोधन गर्दै मोदीले कार्कीको नियुक्तिलाई महिला सशक्तीकरणको बहुत उत्तम उदाहरण रुपमा ब्यख्या गर्दै मोदीले कार्कीको आगमनले नेपालको नवोदयलाई सङ्केत गरेको धाराणा राखेका हुन् ।
हिमालयको काखको नेपाल भारतको एक घनिष्ठ मित्र भएको भन्दै मोदीले दुई देश साझा इतिहास र आस्थाले जोडिएको साथै मिलेर अघि बढिरहेको पनि बताए ।
यस्तो छ भारतीय प्रधानमन्त्री मोदिले मणिपुरको सभामा सम्बोधनको क्रममा व्याक्त गरेको विचार
साथीहरू, आज मणिपुरको यो भूमिबाट म नेपालका मेरा साथीहरूसँग पनि कुरा गर्नेछु। हिमालयको काखमा बसेको नेपाल भारतको एक साथी हो, घनिष्ठ मित्र हो। हामी साझा इतिहासद्वारा जोडिएका छौं , आस्थाद्वारा जोडिएका छौं र सँगै मिलेर अगाडि बढिरहेका छौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएकोमा म आज १४० करोड भारतवासीहरूको तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई व्यक्त गर्दछु । उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ । नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तिकरणको एक उत्कृष्ट उदाहरण हो । म आज नेपालको प्रत्येक व्यक्तिको प्रशंसा गर्दछु जसले यस्तो अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राख्यो ।
साथीहरू, नेपालमा भएको घटनाक्रममा अर्को एक विशेष कुरा छ जसमा मानिसहरूले ध्यान दिएका छैनन् । पछिल्ला दुई(तीन दिनदेखि, नेपालका युवा युवतीहरू धेरै कडा परिश्रम र शुद्धताको भावनाका साथ नेपालका सडकहरू सफा गर्दै र रंग लगाउँदै गरेको देखिन्छन् । मैले सोशल मीडियामा उनीहरूको तस्बिरहरू पनि देखेको छु । उनीहरूको यो सकारात्मक सोच, यो सकारात्मक काम प्रेरणादायी मात्र नभई नेपालको नवोदयको स्पष्ट संकेत पनि हो । म नेपालको उसको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु ।



