काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जाननहुने बताएका छन् ।
भदौ २४ गते बानेश्वरस्थित संघीय संसद भवन, सिंहदरबारस्थित संघीय संसद सचिवालयलगायत विभिन्न सरकारी कार्यालय, आवास, सञ्चार गृह, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक दस्तावेजमा आगजनी र तोडफोड भएको प्रसङ्गमा सभामुख घिमिरे र अध्यक्ष दाहालले गहिरो दुःख व्यक्त गरेका छन् । वक्तव्यमा संघीय संसद भवनसहित देशभर भएको तोडफोड र आगजनीले अपुरणीय क्षति पुर्याएको उल्लेख छ ।
“देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ,” वक्तव्यमा उल्लेख छ ।
संसद्का सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालले संयुक्त रूपमा शुक्रबार विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई विशेष आग्रह गरिएको छ ।
दुवै शीर्ष संसदीय पदाधिकारीले विधिको शासन र संविधानवादबाट बाहिर नजानुपर्नेमा जोड दिँदै आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ बलियो, उन्नत र समृद्ध लोकतन्त्रका लागि सबैलाई प्रतिबद्ध हुन अपिल गरेका छन् ।




