काठमाडौँ । अन्तरिम सरकारको नेतृत्वका लागि बिहीबार निर्णायक वार्ता हुने हुने भएको छ । आज नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच निर्णायक वार्ता हुने भएको हो ।
जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुङ्गो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने बताइएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग बिहीबार बिहानदेखि छलफल जारी हुने जानकारी दिए । सो छलफलले आज निकास निकाल्ने उनले विश्वास व्यक्त गरे ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । यद्यपि, हालसम्म सो प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगिसकेको छ ।
ती युवाहरुको माग अनुसार नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।
जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्याायधीश कार्कीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले समेत समर्थन गरिसकेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्कीको नाममा समर्थन रहेको जानकारी दिएका हुन् ।
नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए ।
हर्क साम्पाङले पनि सुशीला कार्कीलाई समर्थन रहेको जनाएका छन् । प्रसाईंले देशले निकास पाउने गरी जसको नेतृत्वमा सरकार बने पनि स्वीकार्ने अभिव्यक्ति सार्वजनिक गरे ।
जेनजी युवाहरुले भर्चुअल माध्यमबाट व्यक्त गरेको मतमा सुशीला कार्कीको नाममा धेरैको समर्थन देखिएको थियो । कार्कीले पनि अन्तरिम सरकारको नेतृत्व गरिदिन जेनजीले राखेको प्रस्ताव स्वीकार्ने बताइसकेकी छन् ।



