Friday, December 12, 2025
Zenith Migration Education
Friday, December 12, 2025

देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

Zenith Migration Education

काठमाडौँ । मुलुकको विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरेको छ । सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ ।

नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार, आज (भदौ २५ गते) बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा कायम रहनेछ भने त्यसपछि भोलि भदौ २६ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुनेछ । परिस्थितिको विश्लेषण गरेर थप जानकारी गराइने सेनाले बताएको छ ।

आन्दोलनको आडमा अराजक व्यक्ति र समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरेको र गर्ने सम्भावना रहेकाले यो कदम चालिएको विज्ञप्तिमा उल्लेख छ ।

निषेधाज्ञा र कर्फ्युका बेला एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू भने सञ्चालन हुन पाउने छन् । आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ ।

सेनाले आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिमाथिको आक्रमणलाई दण्डनीय अपराध मानिने र त्यस्ता क्रियाकलाप गर्नेमाथि कडा कारबाही गरिने जनाएको छ ।

सेनाले सम्पूर्ण अवकाश प्राप्त सैनिकलगायत सुरक्षाकर्मी, सबै सेवाका राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकहरुलाई अफवाहको पछाडि नलाग्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ । साथै, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन आ–आफ्नो दायित्व निभाउन पनि अपिल गरेको छ ।

सेनाले हरेक परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय रहने र नेपाली जनताको सुरक्षा तथा मानवीय उद्धारमा सधैँ प्रतिबद्ध रहने विश्वास दिलाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु