काठमाडौँ । मङ्गलबार बिहानैदेखि सरकारको दमनको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ । सोमबार जेनजी प्रदर्शनका क्रममा १९ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा आज देशव्यापी प्रदर्शन भइरहेको हो ।
प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका छन् ।
मङ्गलबार बिहान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा र ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
यसैगरी, रौतहटको चन्द्रपुर नगरपालिकामा प्रदर्शनकारीले आगजनी गरेका छन् । सोमबार सुनसरीको इटहरी नगरपालिकामा आन्दोलनकारी आगजनी गरेका थिए ।
जेनजीको आन्दोलनमा प्रदर्शनमा प्रहरीको दमनको विरोधमा कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गरेका छन् ।
सोमबारको आन्दोलनमा प्रहरी दमनको विरोधमा मंगलबार बिहान प्रदेशसभा सचिवालय नजिकै रहेको देवकोटा चोकमा युवाहरूले टायर बालेर प्रदर्शन गरेका हुन् ।
दर्शनकारीले सर्लाहीमा नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् । सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
काठमाडौं, भक्तपुर, ललितपुर लगायतका धेरै जिल्लाहरुमा कफ्र्यू तोड्दै आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् । चोक–चोकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।



