काठमाडौँ । सोमबार काठमाडौँमा भएको जेनजीहरुको प्रदर्शनका क्रममा ज्यान गुमाएका विद्यार्थी सुलभ राज श्रेष्ठ भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठका छोरा रहेको खुलेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी सुलभ काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै थिए । उनको सोमबार दिउँसो ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
सुलभ नरेन्द्रका एकमात्रै छोरा हुन् । बुवा नरेन्द्र सोमबार साँझ ६ बजे नेपालगञ्जबाट हवाइमार्ग हुँदै काठमाडौं गएको वडाध्यक्ष प्रमोद रिजालले बताए ।
पढाइमा जेहेन्दार र मिहेनती रहेका सुलभको मृत्युको खबरले धम्बोझि अहिले शोकमा डुबेको छ । सुलभको घरमा छिमेकी र आफन्तहरुको भिड लागेको छ ।
सोमबार भएको जेनजीहरूको प्रदर्शनमा परेर मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, घाइते भएका ३ सय ४७ जनाको देशभरका अस्पतालहरूमा उपचार भइरहेको छ ।



