Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

जलवायु सङ्कट श्रमजीवी वर्गको साझा मुद्दा हो : अध्यक्ष दाहाल

Zenith Migration Education

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असरबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले उक्त सङ्कटको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताए ।

माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले जलवायु परिवर्तनको असरलाई पुँजीवादी विकास मोडलको असफलताको परिणामका रूपमा चित्रित गरे । अध्यक्ष दाहालले भने, “आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै सङ्कटमा छ । यसको समाधान यदि सही ढङ्गले गर्न सकिएन भने यो सङ्कट झन् गहिरो हुँदै जानेछ ।”

अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहँदा विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु न्यायको पक्षमा आवाज उठाएको उल्लेख गर्दै भने, “हामीले सबै गरिब राष्ट्रहरूको प्रतिनिधिका हैसियतले नेपालको नेतृत्वमा विश्वका सबै गरिब राष्ट्रका जनताको आशा र विश्वास कायम होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय मञ्चहरूमा यो मुद्दा गम्भीर ढङ्गले उठाउँदै आएका छौँ ।”

उनले धनी राष्ट्रहरूको नाफामुखी अवधारणाकै कारण कार्बन उत्सर्जन भइरहेता पनि त्यसको प्रतिकूल असर गरिब राष्ट्रहरूका जनताले व्यहोर्नुपरेको र कार्बन क्षतिपूर्तिस्वरूप दिने भनिएको रकमसमेत अहिलेसम्म नदिइएकामा विश्वका तेस्रो मुलुकको नेतृत्व लिएर आवाज उठाउनुपर्ने आवश्यकता औँल्याए ।

अध्यक्ष दाहालले सामुदायिक वन व्यवस्थापनको अवधारणा नेपालमा सही उद्देश्यले ल्याइएको भए पनि त्यसमा पछिल्लो समय विकृति देखिएको बताए ।

कार्यक्रममा तयार पारिएको अवधारणापत्रको प्रशंसा गर्दै अध्यक्ष दाहालले यो केवल पार्टीको दस्तावेजमात्र नभई अन्तर्राष्ट्रिय हस्तक्षेप र संवादको महत्त्वपूर्ण दस्तावेज बन्न सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा विभागका इन्चार्ज शक्तिबहादुर बस्नेत, पूर्वमन्त्रीहरू, सबै प्रदेशका नेता तथा विज्ञहरूको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु