Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

हेरचाह कार्य पेशा मात्र नभएर मानवीय सेवा पनि होः परराष्ट्रमन्त्री

Zenith Migration Education

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय सेवा पनि हो भनेकी छन् । एसिया प्यासिफिक केयर लर्निङ् सम्बन्धी काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै उनले भनिन्, “बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरुहरुलाई केवल पेशा या जागिरका रुपमा मात्र हेरिनु हुँदैन, यो त एउटा मानवीय सेवा पनि हो ।”

हेरचाहसम्बन्धी कार्यको यो अपरिहार्य भूमिकाका बाबजुद पनि घर, समुदाय तथा राष्ट्रियस्तरमा यसको मूल्याङ्कन कमै मात्र गरिएको र अर्थतन्त्रमा यसको योगदानका बारेमा खोजी नगरिएको उनले बताइन् । मन्त्री डा राणाले नेपालमाा यस क्षेत्रको योगदान लगभग कृषिकै बराबरीको रहेको र प्रायः महिलाले नै यसको असमान भार बोकिरहेको बताउँदै यसले अर्थतन्त्र, राजनीति र सार्वजनिक जीवनमा हुने महिला सहभागितालाई अवरुद्ध गरेको बताइन् ।

नेपालले परिवर्तनको आवश्यकतालाई पहिचान गरेको र १६औँ आवधिक योजनाले पहिलोपटक हेरचाहलाई हाम्रो विकास दृष्टिकोणको केन्द्रमा राखेको पनि उनले बताइन् । मन्त्री डा राणाले हेरचाहमा गरिने लगानीलाई खर्चका रुपमा नलिई उच्च प्रतिफलयुक्त लगानीका रुपमा हेरिनुपर्ने बताउँदै स्वास्थ्य र शिक्षा हेरचाहमा रहेको अहिलेको अभावलाई पूरा गर्न सके नेपालमा लाखौँ नयाँ रोजगारी सिर्जना हुने र त्यसको कम्तीमा पनि ६० प्रतिशत महिलाहरूकै पक्षमा रहने अध्ययनहरुले देखाएको स्पष्ट पारिन् ।

सीमित पूर्वाधार, दक्ष हेरचाहकर्मीको अभाव र जनचेतनाको कमी यस क्षेत्रका चुनौती रहेका र सम्मानजनक रोजगारीको सिर्जना, सामाजिक सुरक्षाको विस्तार र हेरचाहकर्मीलाई उचित पारिश्रमिकको व्यवस्था गरेर चुनौतीको सामना गर्न सकिने उनले बताइन् ।

दशकौँअघिदेखि आफूहरुले मुलुकको सुदूरपश्चिम तथा अन्य क्षेत्रहरुमा सुरक्षित मातृत्व तथा लैंगिक समानताका क्षेत्रमा गरेका कामहरुको स्मरण गर्दै मन्त्री डा राणाले यी सहयोग एवम् अभियानहरुको गणना कमै हुने गरेपनि यस्तै कार्यक्रमहरुले नेपालमा मातृ तथा शिशु मृत्यु घटाउन ठुलो योगदान गरेको चर्चा गरिन् । हेरचाहसम्बन्धी कार्यहरुबाटै महिला तथा शिशु स्वास्थ्यमा सुधार आएको र यसबाट देशकै स्वास्थ्यका सूचकहरु पनि बलिया हुँदै गएका धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु