काठमाडौँ । बिहीबारदेखि सामाजिक सञ्जाल बन्द हुने भएको छ । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई व्यवस्थित र जवाफदेही बनाउन सरकारले अनिवार्य दर्ता प्रक्रियामा ल्याएको थियो ।
तर तोकिएको कार्यालय समयको अन्तिम समयसीमा सकिँदासम्म पनि कुनै नयाँ सामाजिक सञ्जालले सूचीकरणका लागि निवेदन नदिएपछि सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने तयारी गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ ।
यसअघि दर्ता भइसकेका केही सामाजिक सञ्जालबाहेक नयाँ प्लेटफर्मले कुनै पनि किसिमको निवेदन पेस नगरेको मन्त्रालय स्रोतको भनाइ छ ।
स्रोतका अनुसार कार्यालय समय अहिले साँझ नै सकिए पनि अनलाइनमार्फत मध्यरातिसम्म निवेदन गर्न सकिने प्रावधान छ । त्यसैले अन्तिम समयसम्म पर्खिने र बिहीबार बिहानसम्म निवेदन नआएमा मन्त्रालयले आवश्यक कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।



