Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

मदुरोको चेतावनी : भेनेजुएला क्यारेबियनमा अमेरिकी सैन्य उपस्थितिको जवाफ दिन तयार

Zenith Migration Education

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार आफ्नो देश ‘अधिकतम तयारी’ मा रहेको र संयुक्त राज्य अमेरिकाले क्यारेबियनमा तैनाथ गरेको सेनाबाट आक्रमण भएमा जवाफ दिन तयार रहेको चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा उनले दिएका भनाइहरू अमेरिकी सरकारले ल्याटिन अमेरिकी ड्रग कार्टेलहरूको गतिविधि नियन्त्रण गर्न भन्दै भेनेजुएलाको पानीमा आफ्नो समुद्री शक्ति विस्तार गर्ने तयारीसँग मेल खान्छन् ।

अमेरिकाले हजारौँ कर्मचारी तैनाथ गरिसके पनि भूमि आक्रमणको सङ्केत भने अहिलेसम्म दिएको छैन । तर मदुरो सरकारले आफ्नो तट र कोलम्बियासँगको सीमामा सेना पठाएर, साथै नागरिकलाई मिलिसियामा भर्ना हुन आग्रह गर्दै प्रतिक्रिया जनाइसकेको छ ।

“यस असाधारण सैन्य दबाबको सामना गर्दै हामीले भेनेजुएलाको रक्षाका लागि अधिकतम तयारी घोषणा गरेका छौँ”, मदुरोले भने । उनले यो तैनाथीलाई ‘अन्यायपूर्ण, अनैतिक, आपराधिक र रक्तपातपूर्ण खतरा’ का रूपमा चित्रण गरे ।

उनले यदि अमेरिकाले आक्रमण गर्‍यो भने संवैधानिक अधिकारअनुसार आफूले ‘अमेरिकाविरुद्ध हतियार उठाएको’ घोषणा गर्ने बताए । यद्यपि उनले यसबारे विस्तृत जानकारी भने दिए ।

हाल अमेरिकी नौसेनासँग क्यारेबियन क्षेत्रमा दुई एजिस निर्देशित मिसाइल विध्वंसक – युएसएस ग्रेभली र युएसएस जेसन डनहम – रहेका छन् । साथै युएसएस स्याम्पसन विध्वंसक र युएसएस लेक एरी क्रूजर ल्याटिन अमेरिकी पानीमा तैनाथ छन् । अमेरिकी पक्षले यो सैन्य उपस्थितिलाई अझ विस्तार गर्ने तयारी गरेको छ ।

यसै सन्दर्भमा, तीनवटा जल र स्थलबाट आक्रमण गर्ने जहाजहरू यो हप्ताभित्रै उक्त क्षेत्रमा प्रवेश गर्ने एपीलाई एक अमेरिकी रक्षा अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् । यी जहाजमा चार हजारभन्दा बढी नाविक र मरीन समावेश छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समुदायमा फेन्टानिल र अन्य अवैध ड्रग्सको प्रवाह रोक्न तथा केही अमेरिकी सहरमा भइरहेको हिंसा नियन्त्रण गर्न सेनाको प्रयोग गर्न दबाब दिएका कारण यो तैनाथी गरिएको हो ।

सोमबार, भेनेजुएलाका विदेशमन्त्री यवान गिलले संयुक्त राष्ट्रसङ्घको एक रिपोर्ट उद्धृत गर्दै ल्याटिन अमेरिकी समकक्षीहरूसँग अमेरिकी नौसैनिक तैनाथी ‘गलत कथा’ मा आधारित रहेको बताए ।

उनका अनुसार, कोलम्बियामा उत्पादित करिब ८७ प्रतिशत कोकेन प्रशान्त हुँदै पठाइन्छ र जम्मा पाँच मात्र भेनेजुएला हुँदै सार्ने प्रयास हुन्छ । विश्वका शीर्ष कोकेन उत्पादकहरूमा भूपरिवेष्टित बोलिभिया र कोलम्बिया रहेका छन् । यी दुवै मुलुकले जसले प्रशान्त र क्यारेबियन दुवैमा पहुँच राख्छन् ।

“भेनेजुएलामा आक्रमण भनेको वास्तवमै सम्पूर्ण क्षेत्रलाई अस्थिर बनाउने कार्य हुनेछ”, गिलले यस कथाले सम्पूर्ण क्षेत्रलाई खतरामा पार्ने दाबी गर्दै भने, “हामी तुरुन्तै यो तैनाथी अन्त्य गर्न माग गर्छौं, जसको उद्देश्य सार्वभौम जनतालाई धम्क्याउनु बाहेक अरू केही होइन ।”

सो अवसरमा मदुरोले गत वर्षको राष्ट्रपतीय चुनावमा आफू वैध विजेता भएको दाबी पनि दोहोर्‍याए । तर, पर्याप्त प्रमाणहरूले यसको विपरीत देखाएको र यसले अमेरिकासहित धेरै देशलाई उनलाई भेनेजुएलाको राष्ट्रपतिको रूपमा मान्यता नदिन प्रेरित गरेको अन्तर्राष्ट्रिय समुदाय बताउँदै आएको छ ।

यसैबीच, जनवरीमा तेस्रो कार्यकालका लागि शपथ लिएका मदुरोले आफ्नो सरकारसँग ट्रम्प प्रशासनबीच दुई किसिमको सम्पर्क च्यानल रहेको बताए–एक विदेश मन्त्रालयमार्फत र अर्को ट्रम्पका दूत रिचर्ड ग्रेनेलमार्फत । उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई भेनेजुएलाको सरकारलाई अपदस्थ गर्न दबाब दिने ‘मुख्य सरदार’ को संज्ञा दिए ।

सन् २०२४ जुलाईको राष्ट्रपति चुनावपछि विपक्षी नेत्री मारिया कोरिना मचाडोले पनि अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायलाई मदुरोलाई पदबाट हटाउन दबाब दिन आह्वान गर्दै आएका थिए । उनले गत महिना अमेरिकी युद्धपोत तैनाथीलाई ‘सही कदम’ भन्दै ट्रम्प र रुबियोलाई धन्यवाद दिएका र्थिए ।

तर, मदुरोले सोमबार चेतावनी दिँदै भनले, “भेनेजुएलाविरुद्ध अमेरिकी सैन्य कारबाहीले राष्ट्रपति ट्रम्पको हातलाई रगतले दागिनेछ ।”

उनले भने, “राष्ट्रपति डोनाल्ड ट्रम्प, शासन परिवर्तनको नीति असफल भइसकेको छ । अब तपाईंले भेनेजुएलामा परिस्थिति थोपर्ने नाटक गर्न सक्नुहुन्न ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु