Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

Zenith Migration Education

जिनेभा । संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा रहेको राफाहमा खाद्य सामग्री लिन गएका पीडितहरूलाई जबरजस्ती बेपत्ता पारिएको समाचारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले यस्तो कार्यलाई ‘निर्दयी र अमानवीय अपराध’ भन्दै तुरुन्त अन्त्य गर्न आग्रह गरेका छन् ।

सात जना स्वतन्त्र मानव अधिकार विज्ञहरूले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्,“आफ्नो आधारभूत अधिकार – भोजनको खोजीमा निस्केका सर्वसाधारणलाई लक्षित गरी बेपत्ता पारिएको खबर न केवल दुःखद छ, यो त यातनासँग बराबरको अपराध हो ।”

उनीहरूको भनाइमा, “भोकाको अवस्थामा रहेका सर्वसाधारणलाई लक्षित गरी जबरजस्ती बेपत्ता पार्ने कार्य तत्काल रोकिनुपर्छ ।”

विज्ञहरूको अनुसार, गाजामा खाद्य वितरणमा संलग्न रहेको गाजा मानवीय प्रतिष्ठान (एक निजी संस्था जुन इजरायल र अमेरिकाको सहयोगमा स्थापना गरिएको हो)का वितरण केन्द्रहरूबाट एक बालकसहित कैयौं व्यक्तिहरू हराएको खबर आएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, “इजरायली सैनिकहरू सहायता लिन आएका व्यक्तिहरूको बेपत्ता पार्ने कार्यमा सिधै संलग्न छन् । साथै, राज्यका सुरक्षा निकायहरूले हिरासतमा लिएका व्यक्तिहरूको अवस्था र स्थानबारे कुनै जानकारी नदिएकाले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन मानिन्छ ।”

विज्ञहरूका अनुसार,बेपत्ता पारिएका व्यक्तिहरूबारे जानकारी नदिनु, हिरासतको अस्वीकृति गर्नु र कानुनी प्रक्रिया नअपनाउनु जबरजस्ती बेपत्ता पारिएको अपराधमा पर्दछ ।

संयुक्त राष्ट्रसंघले गत साता गाजाको एक प्रमुख क्षेत्रमा भोकमरी घोषणा गरिसकेको छ । त्यसको दोष उहाँले मानवीय सहायता आपूर्तिमा गरिएको व्यवस्थित अवरोधमा लगाएका थिए ।

इजरायले मार्चदेखि मे महिनासम्म गाजामा पूर्ण नाकाबन्दी गरेको थियो । त्यसपछिको चरणमा, संयुक्त राष्ट्रसंघका निकायहरूलाई पन्छाउँदै इजरायल र अमेरिकाको सहयोगमा गाजा मानवीय प्रतिष्ठान स्थापना गरिएको थियो, जसले खाद्य वितरणको कार्य सम्हालिरहेको छ ।

विज्ञहरूका अनुसार, “हवाई आक्रमण र दैनिक गोलीबारीका कारण ती केन्द्रहरूमा सयौंको ज्यान गइसकेको छ ।” गाजा मानवीय प्रतिष्ठानले निजी सुरक्षाकर्मीहरू मार्फत सुरक्षाको व्यवस्था गरिरहेको भए तापनि, त्यसले बेपत्ता पारिएका घटनाहरू रोकेका छैन ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले गत साता मात्र जनाए अनुसार, गएको मे महिनाको अन्त्यदेखि हालसम्म एक हजार ८५७ जना फिलिस्तीनी सहायता लिन जाँदा मारिएका छन्, जसमध्ये एक हजार २१ जना गाजा मानवीय प्रतिष्ठानका नजिकै मारिएका हुन् ।

विज्ञहरूले चेतावनी दिँदै भनेका छन्, “अहिले यी वितरण केन्द्रहरूमा सहायता खोज्न जाने व्यक्तिहरू जबरजस्ती बेपत्ता पारिने थप जोखिममा परेका छन् ।”

उनीहरूले इजरायल सरकारलाई अपिल गरेका छन्, “पहिले नै सङ्कटमा परेका जनसङ्ख्याविरुद्ध भइरहेको यस्तो घृणित अपराध तुरुन्त रोक्नुपर्छ ।”

त्यसैगरी, बेपत्ता पारिएका व्यक्तिहरूको अवस्थाबारे स्पष्ट जानकारी दिन, निष्पक्ष अनुसन्धान गर्न र दोषीमाथि कानुनी कारवाही गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु