Monday, May 25, 2026
Zenith Migration Education
Monday, May 25, 2026

भारतसँग कालापानी–लिपुलेकको सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ : अध्यक्ष प्रचण्ड

Zenith Migration Education

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको बताएका छन् । विराटनगरमा सम्पन्न १ नं. प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, “म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी र लिपुलेकको विषयमा गम्भीर ढङ्गले कुरा गरी, इतिहासमा पहिलो पटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गराएको हो । यो कुरा तपाईंहरूले पनि बुझ्नुपर्‍यो । तल जनतालाई पनि बुझाउनुपर्‍यो ।”

आफू प्रधानमन्त्रीको रूपमा भारतको भ्रमणको सन्दर्भमा भारतका प्रधानमन्त्रीसँग औपचारिक तथा सार्वजनिक रूपमा कालापानी, लिपुलेकजस्ता सीमा समस्या समाधानका लागि गरिएको प्रयासलाई अहिलेको सरकारले अगाडि बढाउनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले भने, “प्रधानमन्त्रीका रूपमा मैले गरेका सकारात्मक काम जनतालाई जानकारी दिनु पार्टीका कार्यकर्ताहरूको जिम्मेवारी हो, हाम्रै साथीहरूले हाम्रै उपलब्धिहरू नबोल्दा विकृति आउँछ भन्ने बुझ्न जरुरी छ ।”

प्रचण्डले पार्टीभित्र आलोचना र आत्मसमिक्षाको आवश्यकतामा जोड दिँदै वैचारिक अराजकता र अनुशासनहीनताले संगठनमा चुनौती उत्पन्न भएको समेत बताए । उनले प्रदेशका नेताहरूले राखेका सुझाव र चिन्ताहरूलाई गम्भीरतापूर्वक लिएको बताउँदै पार्टीले ठूला ठूला चुनौतीको सामना गर्नुपर्ने हुनसक्ने बताए ।

“समाजवादको तयारी गर्न हामीले अझ ठूला वैचारिक बहस र राजनीतिक संघर्ष पार गर्नुपर्छ,” अध्यक्ष प्रचण्डले भने, “मार्क्सवादले भनेको आलोचना र आत्मसमिक्षा यही हो ।”

अध्यक्ष प्रचण्डले १ नं. प्रदेशलाई “अग्रगामी चेतनाको स्रोत” भन्दै यहाँका कार्यकर्ताहरूको आलोचनात्मक चेतना पार्टी विकासका लागि सकारात्मक सङ्केतको रूपमा व्याख्या गरे ।

पार्टी विभाजनपछि पुनः मूलधारमा फर्किएका नेताकार्यकर्ताहरू अनुभव र आत्मसमिक्षासहित पार्टीमा फर्किएकाले आएका नेताकार्यकर्तालाई स्वागत गर्न हिच्किचाउन नहुने बताउँदै उनले होच्याउने, हेला गर्ने काम नगर्न निर्देशन दिए ।

अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा विराटनगरमा सम्पन्न प्रदेश समिति सचिवालय बैठकले पार्टीभित्रको वैचारिक बहस, संगठन निर्माण तथा समसामयिक राजनीतिक विषयमा गहन छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु