काठमाडौँ । नेपाल साउथ अष्ट्रेलिया (एसए) सँगको दोस्रो अभ्यास टी २० खेलमा पनि पराजित भएको छ । बिहीबार भएको दोस्रो अभ्यास खेलमा नेपाल तीन रनले पराजित भएको हो । साउथ अष्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १५७ रनमा अलआउट भयो ।
रुपेश सिंहले १९ बलमा ३७ रन तथा लोकेश बमले २६ बलमा ३२ रन बनाए । नेपाल ८२-६ को अवस्थामा हुँदा यी दुई मिलेर अर्धशतकीय साझेदारी गरे पनि जित दिलाउन सकेनन् ।
रुपेश र लोकेश दुवै १९औँ ओभरमा क्याच आउट भएका थिए । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा करण केसी स्ट्राइकमा भए पनि उनी पनि क्याचआउट भए । त्यसपछि शाहब आलमले एक चौका प्रहार गरेर अन्तिम बलमा ४ रन आवश्यक हुँदा शाहब बोल्ड भए ।
त्यसअघि पहिले ब्याटिङ गरेको साउथ अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाउँदै नेपाललाई १६१ रनको लक्ष्य दिएको थियो ।
साउथ अष्ट्रेलियाका रायन किङले सर्वाधिक ३९ रन बनाए । डानियल ड्रिउ र ह्यारी मानेन्तीले समान २९ रन बनाए । नेपालका करण केसी, शाहब आलम र रुपेश सिंहले २-२ विकेट लिँदा कुशल भुर्तेल र करण केसीले १-१ विकेट लिए ।
यसअघि आजै बिहान भएको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । टप एन्ड टी २० सिरिज समाप्त भएपछि नेपालले मंगलबार भएको दुवै अभ्यास खेलमा अष्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो ।
टप एन्ड टी २० सिरिजमा नेपाल ११ टिममध्ये आठौँ भएको थियो । नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अष्ट्रेलिया टुर महत्त्वका साथ हेरिएको छ ।



