Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

तीज महोत्सवमा मुख्यमन्त्री मिन्सको उपस्थिति, सिड्नीमा नेपाली संस्कृति झल्कियो

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । नेपाली हिन्दू सोसाइटी अष्ट्रेलियाले आयोजना गरेको भव्य तीज महोत्सव मङ्गलबार सिड्नीको बरूड पार्कमा उत्साहपूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि न्यु साउथ वेल्सका मुख्यमन्त्री क्रिस मिन्सले नेपाली समुदायप्रति सम्मान प्रकट गर्दै तीजको शुभकामना दिए । उनले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृतिको योगदानलाई विशेष उल्लेख गर्दै भने, “नेपालीहरूप्रति यहाँको समाजले गर्व गर्छ ।”

बरूड काउन्सिलका मेयर जोन फेकर, स्ट्राथफिल्डका सांसद जेसन यात–सेन ली, वाणिज्यदूत सन्जीव कुमार शर्मा, बरूड काउन्सिलकी काउन्सिलर सुकृति भट्ट, बरूड एरिया पुलिस कमान्डकी कमाण्डर क्रिस्टिन म्याकडोनाल्ड, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, रिजनल संयोजक दिनेश पोखरेल, नारिनिकुञ्जकी राष्ट्रिय संयोजक संगिता चापागाईंलगायतका विशेष अतिथिहरूको उपस्थिति उल्लेखनीय रह्यो ।

कमाण्डर म्याकडोनाल्डले घरेलु हिंसाविरुद्धको अभियानमा नेपाली समुदायको सक्रियता सराहनीय रहेको बताउँदै आफ्नै टोलीका दुई जना नेपाली मूलका प्रहरीलाई मञ्चमा बोलाएर सम्मानपूर्वक परिचय गराइन् ।

महोत्सवमा पण्डित प्रकाश ढोडारी, हिन्दू सोसाइटीकी उपाध्यक्ष सुनिता पाठक, वरिष्ठ पत्रकार हेमन्त काफ्ले, एनजाका अध्यक्ष कृष्ण तिवारी, ओबर्न नेप्लिज कम्युनिटीका अध्यक्ष अरुण श्रेष्ठ तथा महासचिव सुरज बुढाथोकी, आईसीसी सल्लाहकार डिल्लि ढकाल, डा. नारायण प्रधान दम्पतीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू पनि उपस्थित थिए ।

मङ्गलबार बिहान सुरु भएको महोत्सव साँझ ८ बजेसम्म निरन्तर चल्यो । धार्मिक तथा सांस्कृतिक प्रस्तुति, आकर्षक फायरवर्क, मनोरञ्जनात्मक कार्यक्रम र स्वादिलो नेपाली परिकारका स्टलहरूले कार्यक्रममा विशेष रौनक थपे ।

महोत्सवको सञ्चालन एनआरएनए एनएसडब्ल्यू संयोजक उषा बारिया पोखरेलले गरेकी थिइन् । उनले प्रस्तुत गरेको तीज गीतमा नृत्यले हजारौं दर्शकलाई झुमाएको थियो भने कलाकार निता ढुंगानाको सांगीतिक प्रस्तुतीले कार्यक्रमलाई अझै रंगीन बनायो ।

अध्यक्ष लक्ष्मी वास्ताकोटीले सहभागी अतिथि तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरिन् । महिला, युवा, पुरुषदेखि बालबालिकासम्मको उत्साहपूर्ण सहभागिताले बरूड पार्क दिनभर नेपाली संस्कृति र तीजको उल्लासले भरिएको थियो ।

संयोजक उषा बारियाले सहभागिता विगतका वर्षको तुलनामा अझै उल्लेखनीय भएको बताउँदै भनिन्, “मुख्यमन्त्रीस्तरको उपस्थिति हाम्रो समुदायका लागि गर्वको विषय हो ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु