Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

रविलाई जमानतमा छोड्न माग लिएर उच्च अदालतमा निकिताले दिइन पुनरावेदन

Zenith Migration Education

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जमानतमा छोड्नुपर्ने माग लिएर उनी पत्नी निकिता पौडेलले उच्च अदालतमा पुनरावेदन गरेकी छन् ।

जिल्ला अदालत रुपन्देहीले रविलाई जमानतमा छाड्न नमानेपछि निकिताले आज उच्च अदालत बुटवलमा पुनरावेदन गरेकी हुन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै निकिताले आफ्नो श्रीमान् जेलभित्र सुरक्षित नरहेको बताएकी छन् । रविलाई बिगो ताक्न र त्यस बराबरको बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न दिन उनको माग छ ।

निकिताले फेसबुकमा लेखेकी छन्, ‘आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ । मेरो श्रीमान् भन्नुहुन्छ, यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिछेउ । तर, श्रीमतीका रूपमा मेरो पनि जिद्दी छ, न्याय पाइयोस् कि नपाइयोस्, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढकढक्याउने छु ।’

आफ्नो श्रीमानको जीवन सुरक्षित नरहेको र प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट धम्क्याइरहेको उनले बताएकी छन् ।

‘मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन । भैरहवा कारागारमा उहाँलाई कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन । यिनीहरूले किन जेल सार्न मानिरहेका थिएनन्, यिनीहरूको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन ।

आफैँले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट किन धम्क्याइरहेका होलान्, त्यो पनि अब मैले भनिरहन पर्दैन,’ उनले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु