Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

बेलायतमा कुलमानले गरे उज्यालो नेपाल अभियानमा साथ दिन आह्वान

Zenith Migration Education

लन्डन । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतवासी नेपालीहरुलाई आह्वान गरेका छन् ।

लन्डन नजीकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औं नेपाली मेलालाई सम्बोधन गर्दै घिसिङले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र क्षेत्रमा उज्यालो ल्याउनका लागि उज्यालो नेपाल अभियान सुरु गरिएको बताए। उनले उक्त अभियानमा साथ र सहयोग गर्न सबैलाई आग्रह पनि गरे ।

खाडी मुलुकहरु साथै अमेरिका र युरोपका विभिन्न मुलुकहरुको भ्रमण गरेर बेलायत आइपुगेका घिसिङले २०७२ सालको संविधानमा एनआरएन नागरिकताको प्रावधान रहेता पनि दश वर्ष सम्म कानून बन्न नसकेकाले त्यो कार्यान्वयनमा आउन नसकेको बताए । ‘अब थप ढीला नगरिकन यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्छ,’ उनले भने ।

घिसिङले सगरमाथा, भगवान गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसारभरि चिनाएको बताउँदै गोर्खा सैनिकहरुको माग जति सक्दो चाडो पुरा गर्न आग्रह पनि गरे । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्म अनुरुप वंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन रहेको उनले बताए ।

भर्खरै गरिएको एक अध्ययनले नेपालीहरुले पठाएको एक डलरले नेपालको अर्थतन्त्रमा दुई डलरभन्दा पनि बढी योगदान गरिरहेको देखाएको जनाउँदै घिसिङले संसारभरि रहेका प्रवासी नेपालीहरु नेपालको ठूलो एसेट (सम्पत्ती) भएको बताए हो । एनआरएनलाई नेपाली सरह नेपालमा लगानी गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरे । उनले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन पनि आग्रह गरे ।

बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपाल बाहिर यति ठूलो सङ्ख्यामा नेपालीहरु भेला भएर उत्सव मनाएको देख्दा आफु अत्यन्तै खुसी भएको बताए । उनले भूतपूर्व गोर्खाको योगदानले गर्दा नेपाल तथा बेलायतबीचको सम्बन्ध अरु सुदृढ भएको बताए । उनले नेपाली संस्कृति र सम्पदाको जगेर्ना गर्न तमु धिं युकेले गरिरहेको प्रयासको प्रशंसा पनि गरे ।

तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन महासचिव डा बिशाल गुरुङले गरेका थिए । उक्त मेलामा ४२ ओटा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने ७० ओटा विभिन्न संस्था तथा व्यवसायले आफ्नो स्टल राखेका थिए । मेलाको उद्घाटन तमु धिं युकेका पदाधिकारी तथा पाहुनाहरुले मैन बत्ती बालेर संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु