Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

Zenith Migration Education

पाटन (ललितपुर) । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित रहेर भाषा, कला, संस्कृति र सभ्यतालाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालीलाई विश्वव्यापी रूपमा चिनाउन यस्ता बृहत् प्रतियोगिता महत्त्वपूर्ण हुने भएकाले यसलाई ध्यान दिएर एकताबद्ध रूपमा लाग्नुपर्ने बताए ।

“विश्वव्यापी रूपमा चिनाउन लागेको जनशक्तिले छरिएर रहेका प्रतिभालाई उजागर गर्न लागिपरेको छ, यस्ता कार्यक्रममा हुने नयाँ प्रतिभाको विकासले उत्साहित बनाएको छ, यसबाट प्रेरणा लिँदै आगामी सिजन भव्य हुन सकोस्”, सभामुख घिमिरेले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ ले मेचीदेखि महाकालीमात्रै सीमित नरहेर हाम्रो कला र सम्पदाको सृजनशीलतालाई विश्वभर प्रचारप्रसार गरेको बताए । संस्कृति जगेर्नामा सरकार सदैव तत्पर रहेको बताउँदै उनले विश्वभरि फैलिएर रहेका नेपालीलाई एकताबद्ध गराउँदै नेपाली संस्कृति र सभ्यतासँग जोड्न यो प्रयास सराहनीय रहेको धारणा राखे ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपालीभाषीको महोत्सव हो भन्दै मित्रराष्ट्रलगायत विभिन्न देशबाट आएका नेपालीभाषीको सहभागिताले प्रतियोगिता संसारभरका नेपाली संस्कृति झल्काउने माध्यम बनेको बताए ।

भुटानका पूर्वमन्त्री लोकनाथ शर्माले यो मञ्च निर्माणले धेरै सम्भावना सृजना गरेको उल्लेख गर्दै फाइलनसम्म भाग लिने सबैलाई शुभकामना दिए । इन्ट्रा फाउन्डेसनका संस्थापक डिल्ली अधिकारीले हाम्रो कला र संस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्न सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए ।

ग्राण्ड फिनालेमा गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु