काठमाडौँ । कुवेतमा गत साता विषाक्त मदिरा सेवन गरी मृत्यु हुने १२ जनामध्ये पाँचजना नेपालीको शव काठमाडौं आइपुगेको छ ।
कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले बिहीबार पाँच जनाको शव काठमाडौँ पुगिसकेको जानकारी दिए । उनले भने, “हामीले मृत्यु हुनेमध्ये पाँच जनाको शव काठमाडौँ पठाएका छौँ । ती शव बिहीबार काठमाडौँ पुगिसकेको छ ।”
गत साता कुवेतमा विषाक्त मदिरा सेवन गरी अशक्त बनेका १६० जनाभन्दा बढी एसियाली नागरिक अस्पताल भर्ना भएका थिए । तीमध्ये ५० जनाभन्दा बढी नेपाली थिए ।
विषाक्त मदिरा सेवनका कारण २३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये १२ जना नेपाली रहेको पुष्टि भएको कुवेतको गृह मन्त्रालयले त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी दिएको छ । तर, नेपाल पत्रकार महासंघको कुवेत शाखाले भने विषाक्त मदिरा सेवन गर्दा १६ नेपालीको मृत्यु भएको जनाएको थियो ।
“कुवेत सरकारले हालसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । यीमध्ये पाँचजनाको शव हामीले पठाएका हौँ । बाँकी सातजनाको शव आउँदो साता काठमाडौँ पठाउँछौँ,” श्रम सहचारी आचार्यले भने ।
श्रम सहचारी आचार्यका अनुसार विषाक्त मदिरा सेवन गरी अशक्त बनेका १३ जना अझै कुवेतका विभिन्न अस्पतालमा उपचारत छन् । यीमध्ये सातजनाको आईसीयूमा, केहीलाई भेन्टिलेटर र केहीको वार्डमा उपचार भइरहेको छ ।



