Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

लिपुलेकबारे भारतको प्रतिक्रिया : एक पक्षीय कृत्रिम विस्तार असम्भव

Zenith Migration Education

काठमाडौँ । भारतले नेपालले विस्तार गरेको नक्सा तथ्यहीन भएको टिप्पणी गरेको छ । भारतले लिपुलेकको विषयमा भारत र चीनबिच भएको सहमतिमा नेपालको चासोसँगै सो प्रतिक्रिया जनाएको छ । भारतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी लिपुलेक नाका दशकौँदेखि प्रयोगमा आएको उल्लेख गरेको छ ।

‘‘हामीले लिपुलेक नाका हुँदै भारत र चीन बिचको सीमा व्यापार पुनः सुरु गर्ने सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयको टिप्पणीलाई ध्यानमा राखेका छौँ,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘यस सम्बन्धमा हाम्रो अडान स्थिर र स्पष्ट रहेको छ । लिपुलेक नाका हुँदै भारत र चीनबिचको सीमा व्यापार सन् १९५४ मा सुरु भएको थियो र दशकौँदेखि चलिरहेको छ ।’’

कोभिड र अन्य घटनाक्रमका कारण हालैका वर्षहरूमा यो व्यापार अवरुद्ध भएको बताउँदै उसले दुवै पक्ष अब यसलाई पुनः सुरु गर्न सहमत भएको जनाएको छ । उसले लिपुलेकदेखि लिम्पियाधुरासम्मको भूमि समेटेर जारी गरेको नेपालको एकपक्षीय नक्सालाई कृत्रिम विस्तार भनेको छ ।

‘‘सीमा दाबीहरूको सन्दर्भमा हाम्रो अडान कायम छ कि त्यस्ता दाबीहरू न जायज छन्, न त ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छन्,’’ विज्ञप्तिमा लेखिएको छ, ‘‘एक पक्षीय कृत्रिम विस्तार असम्भव छ ।’’ यद्यपि, भारत संवाद र कूटनीतिमार्फत बाँकी सीमा मुद्दाहरू समाधान गर्न नेपालसँग रचनात्मक अन्तरक्रियाका लागि खुला रहेको विज्ञप्तिमा लेखिएको छ ।

यसअघि नेपालको परराष्ट्र मन्त्रालयले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको र भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापारजस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको भनी प्रतिक्रिया सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु