काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको कसुरका पक्राउ परका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।
गोर्खालीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई म्याद दिइएको हो । गोर्खालीलाई आइतबार चन्द्रागिरीबाट जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको थियो ।
गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धान कै विषय रहेको प्रहरीले बताएको छ ।
२०५८ सालमा रोशन लिम्बुको सुन्धारास्थित बेबी लोन डिस्कोमा हत्या भएको थियो । उक्त हत्यामा अहिले पक्राउ परेका गोर्खाली नै प्रत्यक्ष्य जोडिएका थिए । गोर्खालीले तरबार प्रहार गरेर रोशनको हत्या गरेका थिए । यो प्रकरणमा गोर्खाली १० वर्ष कैद भुक्तान समेत गरेका थिए ।
उनै गोर्खाली कारागारबाट छुटे पनि पटक पटक पक्राउ पर्दै आएका छन् । कहिले हातहतियारको कसुरमा र केहिले लेदनेन र गुन्डागर्दीको कसुरमा उनी पक्राउ पर्दै आएका छन् ।



