सिड्नी (अष्ट्रेलिया) । एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा)ले सिड्नीमा एक बृहत भेटघाट कार्यक्रमको आयोजना गर्दै आपसी भाइचारा र सद्भावलाई बलियो बनाउने उद्देस्यले शुभकामना साटासाट गरेको छ । लामो समयदेखि तराईवासी नेपालीलाई एकताको सुत्रमा बाध्ने र सामाजिक क्षेत्रमा सहयोग तथा सद्भाव बढाउने काम गर्दै आएको एन्टाले आइतबार सिड्नीमा सबै संघसंस्थाका प्रतिनिधि तथा तराईवासी नेपालीहरुको बाक्लो उपस्थितिमा भेटघाट कार्यक्रम आयोजना गरेको हो ।
नेपाली समाजलाई एकताको शुत्रमा बाध्ने र आपसी चिनजान अनि भाइचारा कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको एन्टाका अध्यक्ष रन्जित शाहले बताए । ‘‘हामी नेपालभन्दा धेरै टाढा छौं, तर पनि हामीले जन्मेको ठाउँ र हुर्केको गाउँ भुल्न सक्दैनौ त्यसैले पनि आपसी भेटघाट, चिनजान र आपसी सद्भाव बाड्न र साट्न सकियो भने त्यसले अपनत्व महशुस हुन्छ,’’ अध्यक्ष शाहले भने ।
कार्यक्रममा बोल्दै एनआरएन ओसेनिया क्षेत्रका उपसंयोजक अरुण ठाकुरले बिगतदेखि वर्तमानसम्म सामाजिक क्षेत्रमा अगुवा संस्थाका रुपमा एन्टाको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले नेपाली समाजलाई एकताको सुत्रमा बाध्ने र नेपाली कला संस्कृति जर्गेना गर्न पनि प्रवासमा यस्ता संस्थाहरुको भूमिका महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

यसैगरी, एन्टाका पूर्व अध्यक्ष शुभांस शाहले संसारको जुनै कुनामा रहेर पनि आफनो पहिचान र कला संस्कृति जोगाउने अभियानमा एन्टा जस्ता संस्थाहरु अपरिहार्य रहेको बताउँदै अष्ट्रेलियामा आफना विविध पर्वहरुलाई तराईवासी नेपालीबीच पुर्याउन एन्टाको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
भेटघाटमा उपस्थित भएका चलचित्र निर्देशक शोभित बस्नेतले विदशमा रहेर पनि नेपालीहरु आफ्नो कला संस्कृति अनि पहिचान दिलाउन लागि परेको देख्दा आफु निकै उत्साहित भएको बताए ।
एन्टाका उपाध्यक्ष परमानन्द शाहले सञ्चालन गरेको कार्यक्रममा एनआरएन एनएसडब्लुकी नवनिर्वाचित संयोजक उषा बारिया पोखरेल, समुदायका अगुवा रन्जन श्रीवास्तव, ग्रानभिल नेपाली समाजका अध्यक्ष भिम बस्नेत, जीएनसीका राजिव प्रधानलगायतले एन्टाको कार्यको प्रशंसा गरेका थिए ।




