सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियन सांसद डेविड स्मिथले नेपाली व्यवसायी र समुदायलाई आवश्यक सहयोग र सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली समुदायका अगुवाहरुसँगको भेटमा सांसद स्मिथले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
क्यानबेरामा नेपाली नागरिकद्वारा सञ्चालित सुन पसलमा भएको ठगी प्रकरणबारे नेपाली समुदायका अगुवाहरुले अष्ट्रेलियन सांसद स्मिथसँग भेटवार्ता गरेका छन् ।
सोमबार भएको भेटमा डा. कृष्ण हमाल (FeNCAA), युवा पौडेल (ANFS), नविन पौडेल (NRNA), महता घिमिरे चापागाईं (INLS Australia,ACT), राजु तामाङ (Tamang Society Canberra) साथै प्रभावित व्यवसायी अमृत सुनार र करिश्मा हमाल सुनार ( OM Siddha Jewellers) सहभागी थिए ।
सांसदसँगको भेटमा उनीहरुले अष्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरु माथि लगातार ठगी र लुटपाट हुने क्रम बढ्दै गएको विषयबारे जानकारी गएका थिए । साथै यस्तो अवस्थाले नेपाली व्यवसायीको सुरक्षाप्रति गम्भीर चिन्ता उत्पन्न भएको उनीहरुले बताएका थिए ।
त्यस्तै, यस्ता अपराधिक गतिविधिविरुद्ध प्रभावकारी कदम चाल्न र नेपाली समुदाय तथा व्यवसायीहरुको सुरक्षा सुनिश्चित गर्न अष्ट्रेलियन सरकारसँग उनीहरुले माग गरेका छन् ।
यसबारे सांसद स्मिथले यस्ता घटनाबाट बच्न जनचेतनामूलक कार्यक्रमलाई सञ्चालन गर्ने र यसका लागि सङ्घीय सरकारले उपलब्ध गराउने अनुदानमा सहजीकरण गर्ने आश्वासन समेत दिएका छन् ।
व्यवसायी अमृतले दिएको जानकारी अनुसार जुलाई २७ मा लुटपाटको प्रयास गरिएको थियो। यसअघि, क्यानबेरामा नेपाली सञ्चालित सुन पसलमा भएको ठगी घटनाबारे नेपाली समुदायका अगुवाहरूले ACT की Police, Fire and Emergency Services मन्त्री Dr. Marisa Patersonसँग भेट गरी सुरक्षासम्बन्धी चासो राखेका थिए। यो भेटघाटले नेपाली समुदाय र स्थानीय सरकारबीच सहकार्य तथा आपसी विश्वासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।



